दाङको टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले गर्‍याे परीक्षण उडान

 असोज १६, २०७५ मंगलबार १५:३८:५४ | हेमराज शर्मा

दाङ – नेपाल एयरलाइन्सले दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ ।

मंगलबार बिहान ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन एन ए के यू विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो ।

अवतरणपछि पत्रकारहरुसँग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन् । १० वर्षअघि टरिगाउँ एयरपोर्टको घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताउनुभयो ।

१६ सिटे जहाजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सिटे जहाज बस्न सक्ने बताउनुभयो ।

नेपाल वायुसेवा निगमका इञ्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताउनुभयो ।

प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जित र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सय रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ ।

इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनीहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दसैँअघि विमान नियमित उडान हुने उनीहरुले बताएका छन ।

संघीय सांसद मेटमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलकाबीच मंगलबार जहाजले परीक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।

यता वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल नियुक्त भएलगत्तै देशभर बन्द रहेका विमानस्थल सञ्चालन गर्ने भन्दै आधा दर्जन एयरपोर्टहरुमा परीक्षण उडान सुरु गर्नुभएको हो ।

खरेलका अनुसार अधिकांंश जिल्लाहरुमा दसैँअघि नियमित उडान गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन् ।

उहाँले भन्नुभयो, ‘हामी नागरिकको सेवा गर्न आएका हौँ, दूर दराजका नागरिकलाई सेवा दिनु प्रमुख काम र कर्तव्य हाम्रो हो । प्राविधिक रुपमा सफल परीक्षण उडान भएका जिल्लामा दसैँअघि हवाई सेवा सञ्चालन हुन्छ, भौतिक संरचना निर्माण हुँदै गर्छन्, फ्लाइट रोकिन्न ।’
 

अन्तिम अपडेट: चैत १७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया