जगदम्बा दातव्य औषधालय पुनर्स्थापनाको पहल सुरु

 जेठ २३, २०७५ बुधबार १८:५२:१५ | प्रकाश धौलाकोटी
unn.prixa.net

तत्कालीन समयकाे जगदम्बा दातव्य औषधालयमा अहिले इलाका प्रशासन कार्यालय रहेकाे छ

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–१, सक्रान्तिबजारमा रहेको जगदम्बा दातव्य औषधालय पुनःस्थापनाका लागि पहल सुरु भएको छ ।

औषधालय सञ्चालक समितिले आफ्ना आम्दानीका श्रोतहरुलाई व्यवस्थित गर्दै औषधालय पुनः सञ्चालनमा ल्याउन पहल थालेको हो । वि.स. २०१५ सालमा स्वर्गीय मदन शमशेरको स्मृतिमा श्रीमती जगदम्बाकुमारी देवीले स्थापना गरिदिएको त्यो औषधालय माओवादी द्धन्द्धकालका कारण बन्द भएको थियो । 

उतिबेला तेह्रथुम र ताप्लेजुङका दर्जनभन्दा बढी गाउँहरुको स्वास्थ्य सेवा लिने केन्द्रको रुपमा विकास भएको त्यो औषधालय सञ्चालनका लागि सञ्चालक समिति छलफल सुरु गरेको छ । द्धन्द्धकालमा लथालिङ्ग बनेको औषधालय सञ्चालक समिति ०६७ सालमा कम्पनीको रुपमा कम्पनी रजिष्टारको कार्यायलमा दर्ता भएपछि अहिले फेरि औषधालय सन्चालनको पहल सुरु भएको हो । 

पहिले औषधालय सञ्चालन भएको भवनमा अहिले इलाका प्रशासन कार्यालय स्थापना भएर सेवा प्रवाह भइरहेको छ । औषधालयका आम्दानीका श्रोतहरु व्यवस्थित गरी अत्याधुनिक सेवा सुविधासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी थालिएको औषधालय सञ्चालक समितिका प्रबन्ध सञ्चालक डा.ओमकृष्ण सिटौलाले बताउनुभयो ।

उहाँका अनुसार औषधालयको नाममा रहेका जग्गाहरुबाट वार्षिक रुपमा उठ्ने कुँत –जग्गा उपभोग गरेबापत तिर्ने रकम) द्धन्द्धकालपछि उठेको छैन । जग्गा कमाई गर्नेहरुले मोहीयानी हक दाबी गर्दै वार्षिक रुपमा बुझाउनु पर्ने कुँत बुझाउन छाडेका छन् । जसका कारण औषधालय पुनः सञ्चालनमा ल्याउन समेत समस्या भएको सञ्चालक समितिका सदस्य डम्बरबहादुर ईङनामले बताउनुभयो ।

अहिले मोहीहरुसँग विभिन्न चरणमा छलफल भई कुँत बुझाउने सहमति समेत भएको छ । कुँत उठ्न थालेपछि औषधालयको नियमित आम्दानी वृद्धि हुने सेवा पुनःस्थापना गर्न सहज हुने अपेक्षा गरिएको ईङनामले बताउनुभयो ।

औषधालय पुनःस्थापनाका लागि सञ्चालक समितिले पहल गरिरहेको छ । समितिले भर्खरै सल्लाहकार समितिको बैठक समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने सल्लाहकार समितिमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, रुपा जोशी र धर्मप्रसाद गौतम लगायत सदस्य रहेका छन् । 

सल्लाहकार समितिको बैठकमा औषधालयको अहिलेको अवस्था, चल–अचल सम्पत्ति र आम्दानीको अवस्था र पुनःस्थापनाको तयारीका सम्बन्धमा छलफल भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । औषधालयको नाममा सक्रान्तिबजारमा भवन र केही जग्गा रहेको छ भने ताप्लेजुङको निगुरादिनमा ६० रोपनी जमीन छ । त्यो जमीनमा लगाइएको धान खेतीबाट दुई दशक अघि वार्षिक ४० मुरीसम्म धान कुँत बापत आम्दानी हुने गरेको थियो । यस्तै औषधालयका नाममा मोरङको गछियामा समेत ४८ बिघा जमीन रहेको छ । 

ती जमीनमा ३० बढी मोहीहरुले आफ्नो हक दाबी गर्दै आएका छन् । ‘आम्दानीलाई व्यवस्थित गर्दै औषधालयको पुनःस्थापना गर्ने तयारी छ,’ प्रबन्ध सञ्चालक डा.सिटौलाले भन्नुभयोे, ‘पहिलेभन्दा अलि फरक ढंगले व्यवस्थापन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकले प्राप्त गर्ने वातावरण बनाउन जुटेका छौँ ।’ डा. सिटौलाले कुनै मेडिकल कलेजहरुसँग सहकार्य गरी त्यस औषधालयलाई आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयत्न भइरहेको बताउनुभयो ।

सक्रान्ति बजारमै रहेको मदन धारा सञ्चालक समितिको नाममा समेत अचल सम्पत्ति र नगद सम्पत्ति समेत रहेको छ । तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरकी छोरी समेत रहेकी जगदम्बाकुमारी देवीले स्वर्गीय मदनको निधनपछि विभिन्न स्थानमा पूण्य कमाउने उद्देश्यले धर्मशाला तथा गुठीहरुको स्थापना गर्नुभएको थियो ।
पूण्य कमाउने ध्येयले विभिन्न धर्मशाला र गुठीहरु स्थापना भए पनि त्यस्ता संस्थाका नाममा रहेका सम्पत्तिमाथि सञ्चालकहरुले हाली–मुहाली गरेर सम्पत्तिको दुरुपयोग भएको आरोप लाग्ने गरेको छ । 

सन् १९५६ मा भारत उत्तर प्रदेशको बलरामपुरमा जन्मिएकी जगदम्बाकुमारी देवीले आफ्ना मदन शमशेरको निधनपछि आफूसँग भएको अधिकांश सम्पत्ति पूण्य काममा दान गर्नुभएको थियो । उहाँको सन् १९८८ मा निधन भएको थियो । उहाँको अग्रसरतामा सक्रान्तिबजारमा मदन धारा, जगदम्बा औषधालय र अतिथि गृह स्थापना भएको थियो ।

उहाँले नै स्थापना गरिदिएको अक्षयकोषबाट मदन मेला समेत सञ्चालन हुँदै आएको थियो । ०१५ देखि निरन्तर सञ्चालन भएको  मदन मेला द्धन्द्धकालमा अतिथि गृह भवनमा आगजनी भएपछि बन्द भएको थियो । त्यो ०६८ सालबाट पुनः निरन्तर सञ्चालन हुँदै आएको छ ।

तर अहिले मेला सञ्चालनका लागि मदन मेला संरक्षक समितिले न्यून रकममात्रै सहयोग गर्दै आएको छ । ऐतिहासिक नाम भएकाले स्थानीयबासी र उद्योगी व्यवसायी समेतको लगानीमा मेला सञ्चालन हुने गरेको छ । 

वि.स. २०७३ जेठ २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति निकालेर स्वर्गीय रानी जगदम्बाकुमारी राणा र स्वर्गीय मदन शम्शेर राणाको नाममा देशका विभिन्न स्थानमा रहेको अचल सम्पत्ति तत्कालका लागि रोक्का राख्न सरकारलाई निर्देशन दिएको थियो ।

जगदम्बाका नाममा रहेको सम्पत्ति विभिन्न व्यक्तिहरुले निजीकरण गर्न खोजेको भन्दै उजुरी परेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कमलमणिका छोरा कनकमणि दीक्षितविरुद्धको उजुरीमा सम्पत्ति रोक्का राख्न भूमिसुधार व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको थियो । जगदम्बा औषधालयको सम्पत्ति कनकमणि दीक्षित, कुन्दमणि दीक्षित परिवारले सञ्चालन गर्दै आएका थिए । 

रानी जगदम्बाले २०१५ असोज २४ गते लिखित रुपमा आफ्नो नाम र कृति अमर राख्ने उद्देश्यले ‘जगदम्बा दातव्य औषधालय’ स्थापना गर्न आफ्ना सेक्रेटरी कमलमणि दीक्षितलाई सञ्चालक समितिको सदस्य बनाउने सर्तमा ४० हजार रुपैयाँ दिएको र त्यो रकम मध्ये ३५ हजारको जग्गा किन्नु, ४ हजारको घर बनाउनु र १ हजारको फर्निचर खरिद गरी कार्यालय सञ्चालन गर्नु आदेश दिएको र त्यसै अनुसार जगदम्बा औषधालयको स्थापना भएको अख्तियारले तत्कालिन समयको विज्ञप्तिमा उल्लेख गरेको थियो । 

रानी जगदम्बाका सेक्रेटरी कमलमणि दीक्षितसमेतले तेह्रथुम जिल्लाकै आठराई संक्रन्तीमा औषधालय स्थापना गरेका थिए ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया