यू–१९ एसिया कप : अन्तिम खेलमा नेपालले यूएईलाई ३ विकेटले हरायो

 असोज १६, २०७५ मंगलबार १७:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा जारी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिइसकेको नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा यूएईविरुद्ध ३ विकेटको सान्त्वना जित हासिल गरेको छ ।

साभरस्थित मैदानमा यूएईले दिएको २६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघिका खेलमा जस्तै आजको खेलमा पनि नेपालले सुरुवाति जोडीको प्रदर्शन राम्रो रहेन । ओपनरहरु तृपराज दासले ६ तथा रित गौतमले १८ रनमात्र बनाउन सके ।

त्यसपिछ कप्तान आसिफ शेख र सन्दीप जोराले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै इनिङ उकासे । व्यक्तिगत ३५ रनमा आसिफ आउट भएपछि आएका रोहितकुमार पौडेलले सन्दीप जोरासँग मिलेर ४९ रनको साझेदारी गरे ।

३०औं ओभरको अन्तिम बलमा सन्दीप व्यक्तिगत ६७ रनको स्कोरमा आउट हुँदा नेपालले १५३ रन बनाएको थियो । त्यसपछि अरुण ऐरीले ४ र पवन सर्राफले ९ रनमात्र बनाउन सके । एउटा एण्डबाट विकेट गइरहे पनि रोहितले अर्को एण्डबाट पारी संहालेका थिए । खेलमा जित हासिल गर्न २ रन बाँकी रहँदा रनआउटको शिकार भएका रोहितले ८७ बलमा ९२ रनको शानदार पारी खेले । उनले ४ छक्का र ६ चौका प्रहार गरे ।

आठौं विकेटका रुपमा आएका रशिद खानले १४ बलमा २७ रनको विष्फोटक पारी खेले । बलिङतर्फ यूएईका अरुण बेञ्जामिन र आर्यन लाक्राले २–२ विकेट लिए ।

यसअघि साभरस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २६८ रनको योगफल बनायो । यूएईका लागि फाहद नावाज ८४ र अंश टण्डनले ६७ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरी टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

इनिङको अन्तिम २३ ओभरमा भने युएईले १ सय रनमात्र बनाउन सक्यो । सुरुआतमा कमजोर देखिएका नेपाली बलरहरुले इनिङको अन्त्यतिर आफ्नो प्रभाव कायम गरेका थिए । बलिङतर्फ नन्दन यादव, रसिद खान र पवन सर्राफले २–२ विकेट लिए भने सागर ढकाल र सोनु तामाङले १ विकेट लिए ।

यसअघिका दुवै खेलमा लगातार भारत र अफगानिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । नेपाल गत संस्करणको सेमिफाइनलिस्ट टोली हो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया