बङ्गलादेशमा नेपालको ‘नौगेडी’

 असोज १६, २०७५ बुधबार ५:२८:४१ | रासस

लमजुङ - बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । 

भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । 

आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नौगेडी’ मञ्चन हुनेछ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो । उहाँका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । 

भारतको कोलकातामा केही महीनाअघि आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बङ्गलादेशका टोलीको सिफारिशमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा थापाले बताउनुभयो । 

महोत्सवमा नेपालसँगै भारत, बङ्गलादेश, भूटानलगायत विभिन्न देशका नाटक मञ्चन हुने आयोजकले जनाएको उहाँले बताउनुभयो । गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि, इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको थियो । पानीघट्ट नेपालका आधा दर्जनभन्दा बढी ठाउँमा मञ्चन भइसकेको उहाँले बताउनुभयो । 

उक्त नाटक नेपालमा प्रदर्शनपछि कोलकता लगिएको थियो । कोलकाताबाट फर्किएपछि नेपालका शहरमा मञ्चन गरिएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताउनुभयो । 

निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ पहिलो पटक बङ्गलादेशमा प्रदर्शन हुन लागेको छ । ‘नौगेडी’ नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक रहेको निर्देशक एवं लेखक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यसले विद्यमान छुवाछूत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको छ । नौगेडीमा जयराम तिमल्सिना, रीता थापा, आइपी आचार्य, सुशीलसिंह ठकुरी, पवित्रा खड्का, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, भीष्म जोशी, केदार बोहोरा लगायतले अभिनय गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया