भक्तपु्रमा वीर अस्पताल निर्माणको काम सुरु, ३० करोड विनियोजन

 जेठ २३, २०७५ बुधबार १९:२२:२७ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – सरकारले भक्तपुरको चाँगुनारायणमा वीर अस्पताल विस्तारका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १४ र ११ मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा वीर अस्पताल विस्तारको प्रारम्भिक कार्य गर्न बजेट विनियोजन गरिएको हो । 

जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको वीर अस्पताल निर्माणबारे छलफल कार्यक्रममा बुधबार राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङ्गले अस्पताल विस्तारको काम अगाडि बढेको जानकारी गराउनुभयो । 

‘अस्पताल विस्तारको प्रारम्भिक काम अगाडि बढिसकेको छ, यसवर्ष सरकारले ३० करोडको बजेट छुट्याएको छ, यो बजेटबाट अस्पतालको डिपिआर बनाउने, जग्गाको सिमांकन गरेर तारबार लगाउने र वातावरणीय प्रभाव परीक्षण (ईआईए) गरिने भएको छ ,’ गुरुङ्गले भन्नुभयो ।

सरकारले काठमाण्डौमा रहेको वीर अस्पताललाई तत्कालीन अर्थमन्त्री बिष्णु पौडेल, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङ्ग सहितको चिकित्सक एवं विज्ञ टोलीले जग्गाको अनुगमन गरेपछि यसक्षेत्रमा विस्तार गर्ने निर्णय गरेको थियो । 

अस्पताल निर्माणका लागि करिब ३ किलोमिटरको चारलेन पेप्सीकोला मनोहरा करिडोर सडक निर्माण गरिने भएको छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायणमा बन्ने वीर अस्पतालले चाँगुनारायणको मात्रै नभई भक्तपुर जिल्लाको मुहार फेर्ने बताउनुभयो ।

त्यस अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिका क्षेत्रमा वीर अस्पताल निर्माणका लागि आफूहरुले गरेको पहल सफल भएको बताउनुभयो । मिश्रले यसका लागि चाँगुनारायण नगरपालिका र स्थानीयहरुको पूर्ण सहयोग रहने बताउनुभयो । 

कार्यक्रममा सभापति एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले अस्पताल निर्माणसँगै चाँगुनारायणमा बन्न लागेको नयाँ सहर निर्माणले स्थानीयहरु उत्साहित भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया