‘निर्मलाको हत्यारा बम दिदीबहिनीलाई मात्र थाहा छ’ : पूर्वमन्त्री बलायर

 असोज १७, २०७५ बुधबार १२:४:४६ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गर्नु भएको छ । पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले भन्नुभयो ‘बम दिदी बहिनी पक्राउ गरे सबै कुरो तिनैबाट सबै खुल्ने छ ।’ 

डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनु भएका नेता बलायरले थप भन्नुभयो , ‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारीएको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन,यो प्रहरीको कमजोरी हो ।’

निर्मला पन्त गएको साउन १० गते रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ । स्थानीयबासीन्दाले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमासमेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’ के आधारमा यो दाबी गर्नुभयो भन्ने पत्रकारहरुको प्रश्नमा पुर्वमन्त्री बलायरले भन्नु भयो आफैँले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पोइला गइहोला भन्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु त्यसैको आधार हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उहाँले बताउनुभयो । नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाउनु भयो । आफूले निर्मला हत्या काण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उहाँले भन्नुभयो ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ? ।’ 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया