बैतडीका स्वास्थ्य संस्थाहरुमा फेरि औषधिको अभाव

 असोज १७, २०७५ बुधबार १३:३१:३७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका धेरैजसो स्वास्थ्य संस्थाहरुमा फेरि औषधिको अभाव भएको छ ।

समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढ्दा स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले जानकारी दिनुभयो ।

दसैँअघि औषधि खरिद गर्न नसके निशुःल्क औषधि अभाव हुने उहाँले बताउनुभयो । अहिले पनि धेरैजसो औषधि सकिएको खत्रीले बताउनुभयो । यस्तै पुरचौंडी नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा केही दिनमै औषधि सकिने अवस्थामा रहेको पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । 

स्वास्थ्यका कार्यक्रम नगर कार्यपालिकाले अझै पनि स्वीकृत नगरेकाले तत्काल औषधि खरिद गर्न नसकिने र केही दिनमै औषधिको अभाव हुने उहाँले बताउनुभयो । अहिले पनि निशुःल्क औषधिहरु स्वास्थ्य संस्थाहरुमा कम रहेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल बैतडीमा पनि पार्याप्त मात्रामा औषधि नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदीश बिष्टले बताउनुभयो । औषधि खरिद प्रक्रिया समयमा सुरु नहुँदा औषधिको अभाव हुने गरेको उहाँले बताउनुभयो ।

तल्लो सोराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पनि औषधिको अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो ।

गाउँपालिकाभरका स्वास्थ्य संस्थामा औषधि अभाव भएको र खरिद प्रक्रिया अघि बढाएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताउनुभयो । स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै गएको छ ।

त्रैमासिक रुपमा आउने औषधि पछिल्लो समयमा नआउने गरेकाले स्वास्थ्य संस्थाहरुमा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो । 

उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएको औषधि पनि तत्काल वितरण हुने सम्भावना कम रहेको बताइएको छ । औषधि ढुवानीमा रकम नभएको मेडिकल स्टोरले जनाएको छ । ढुवानी रकम नहुँदा औषधि वितरण प्रक्रिया प्रभावित भएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया