वाटर पार्क आयोजनाले एक महिनाभित्रै अस्थायी लालपूर्जा दिने

 असोज १७, २०७५ बुधबार १५:४५:२६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको वाटर पार्क जग्गा एकीकरण आयोजना अन्तिम चरणमा पुगेको छ ।

नेपालगञ्ज नगर विकास समितिले अबको एक महिनाभित्र अस्थायी पूर्जा वितरण गर्ने गरी काम अघि बढाइने जानकारी दिएको छ । नगर विकास समितिका अध्यक्ष गोपाल पुनले जग्गा एकीकरण आयोजनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

‘अबको बैठकबाट जग्गाको पूर्जा वितरणका लागि निर्णय हुन्छ’, अध्यक्ष पुनले भन्नुभयो, ‘घडेरीको मूल्य निर्धारणका लागि नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भइसकेको छ ।

वाटर पार्क परियोजना नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा अवस्थित रहेको छ । नगर विकास समितिका अध्यक्ष पुनले नापी र मालपोतको प्रक्रिया मिलाउन केही समय लागेको बताउनुभयो ।

वाटरपार्क आयोजनाको क्षेत्रफल झण्डै ६५ बिघा रहेको छ ।  यसभित्र ६ मिटरदेखि २१ मिटरसम्मको सडक रहेको छ । यसैगरी न्यूनतम कित्ताको क्षेत्रफल ६ धुर र मोहडा पनि ६ धुर नै रहेको छ ।

५ प्रतिशत खुल्ला क्षेत्र छुट्टाइएको छ । वाटर पार्क आयोजनामा स्थानीयको ३८ प्रतिशत योगदान रहेको छ । यसैबीच  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले वाटर पार्क जग्गा एकीकरण आयोजनामा भइरहेको ढिलाइबारे सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्ज नगर विकास समितिलाई जानकारी पत्र पठाउँदै आयोजनाको ढिलाइप्रति ध्यानाकर्षण गराउनुभएको हो ।

नेपालगन्ज नगर विकास समितिद्वारा वाटर पार्क जग्गा एकीकरण आयोजना अन्र्तगत रहेका जग्गाधनीहरुको जग्गा अधिग्रहण गरिएको १५ देखि २० वर्ष भइसक्दा समेत अहिलेसम्म पनि अस्थायी लाल पूर्जा वितरण नगरेकोले यहाँका व्यवसायी एवम् आम नागरिकहरुले ठूलो आर्थिक संकट भोग्नु पर्ने तथा घरबिहिन हुने अवस्था रहेको सर्वविदितै छ’, सङ्घले समितिलाई पठाएको जानकारी पत्रमा भनिएको छ, ‘बैङ्कको व्याज समेत बुझाउन नसक्ने अवस्था भएकोले आवश्यक पहल गरी यथाशिघ्र अस्थायी लालपूर्जा वितरण गराउने, तत्काल घर बनाउन तथा हक हस्तान्तरण समेत गर्न पाउने वातावरण मिलाउन सम्बन्धित निकायमा पहल गरिदिन हुनका लागि अनुरोध छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया