सिक्टाको निर्माण कार्यमा ढिलाई

 असोज १७, २०७५ बुधबार १६:३८:५९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय दुई वर्षभन्दा कम रहेको छ ।

तर अहिलेसम्म झण्डै ६० प्रतिशत मात्रै काम सम्पन्न भएका कारण फेरि पनि समयमै निर्माण सम्पन्न हुनेमा अनिश्चितता देखिएको छ ।  आर्थिक वर्ष २०६१÷६२ मा निर्माण सुरु भएको आयोजना आव २०७६÷७७ मा सम्पन्न गर्नुपर्ने समय सीमा रहेको छ ।

दायाँतर्फ ७ र बायाँतर्फ ९ वटा शाखा नहर निर्माण गर्नुपर्ने हुन्छ । अहिलेसम्म पहिलो नहर सिधनियाको प्रगति ८० प्रतिशत रहेको छ भने डुडुवा नहरको ६ प्रतिशत मात्रै प्रगति रहेको छ ।

अहिलेसम्म मुल बाँध, बालुवा छान्ने पोखरी, बालुवा बगाउने नाला, पश्चिमतर्फको मुल नहरलगायतका काम सम्पन्न भइसकेका छन् । झन्झटिलो प्रक्रिया, ठेक्का व्यवस्थापनमा लाग्ने समय, बर्सेनि आउने बाढी, ठूलो वन क्षेत्र, जग्गा अधिग्रहणमा आउने कठिनाई लगायतका चुनौति विद्यमान रहेको आयोजनाले जनाएको छ ।

आव २०६३/६४ को  स्वीकृत गुरुयोजना अनुसार कुल लागत १२ अर्ब ८० करोड रुपैयाँ  निर्माण सम्पन्न गर्नुपर्ने समय आव २०७१/७२ राखिएकोमा  आव २०७१/७२ मा गुरुयोजना संशोधन गरिएको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशबहादुर कार्कीले जानकारी दिनुभयो ।

सुरुवातमा राप्ती पश्चिमको ३३ हजार ७६६ हेक्टरमा सिंचाई सुविधा पु¥याउने लक्ष्य राखिएकोमा पछिल्लो संशोधन अनुसार राप्ती पूर्वको  ९ हजार हेक्टरमा समेत सिंचाई सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

अहिले सिक्टाको सिंचित क्षेत्रफल ४२ हजार ७६६ हेक्टर क्षेत्रफल हुन पुगेको छ । सिक्टा सिंचाई आयोजनाको कुल लागत २५.०२ अर्ब अनुमान गरिएको छ । अहिलेसम्म १४ अर्ब १६ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया