हत्या भएको ९ दिनपछि श्रेया सुनारको दाहसंस्कार

अपराधीलाई जन्मकैदसहितको कारबाही हुन्छ : एसपी राना

 असोज १७, २०७५ बुधबार १८:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका –२२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको शव बुधबार आफन्तले बुझेका छन् । 

बलात्कारको प्रयासमा हत्या गरिएकी श्रेयाको शव ९ दिनपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट आफन्तले बुझेका हुन् । श्रेयाको असोज ८ गते साँझ हत्या भएको थियो । 

हत्या आरोपमा उनकै छिमेकी कुसुम पौडेल पक्राउ परिसकेका छन् । उनलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 
हत्यारा पत्ता लागिसकेको र हत्या स्वीकार गरेकोले शव बुझ्न तयार भएको श्रेयाकी ठूलोममी कल्पना रसाइलीले बताउनुभयो । कुसुमले सरकारी वकिलसँग पनि आफैले मारेको कयान दिएका छन् । 

आफन्त र संघर्ष समितिले श्रेयाको शव बुझेर बुधबार रामघाटमा दाहसंस्कार गरेका छन् । असोज ८ गते साँझ हत्या गरिएकी श्रेयाको हत्यारा भोलिपल्टै पक्राउ परेका थिए । 

बलात्कारको प्रयासमा ढुंगाले हानेर श्रेयाको हत्या गरेको कुसुमले बताएका छन् । श्रेयाको शव पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । शोकसभामा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अपराधी कानुनी कठघरामा पुगेकोले उसलाई जन्मकैदसहितको कारबाही हुने बताउनुभयो ।
    

यसैबीच श्रेया सुनारको परिवारलाई बुधबार अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मात्रिका प्रसाद बरालमार्फत अष्ट्रेलियाबाट प्राप्त ४० हजार नगद उनको परिवारलाई हस्तान्तरण गरिएको हो । 

अष्ट्रेलियन नागरिक लरेन्स जस्मीले सदस्य बरालमार्फत श्रेयाको परिवारलाई दिएको त्यो रकम श्रेयाकी आमालाई उनको निवास पुम्दीभुम्दी कोदीमै पुगेर हस्तान्तरण गरिएको लिला आधारभूत विद्यालयका शिक्षक तारा पौडेलले बताउनुभयो । श्रेयाकी आमा बिरामी भएको हुँदा र उनका भाइ, बहिनीको पढाई खर्चस्वरुप त्यो रकम विदेशबाट प्राप्त भएको बरालले जनाउनुभयो ।

पोखरा महानगरपालिका २२ का वडा सचिव रामप्रसाद पौडेलले अपराधी कानुनी कठघरामा आएकोले त्यसलाई कडा कारबाही गर्नको लागि निरन्तर खबरदारी गर्नु पर्ने बताउनुभयो । समाजमा भएको घटनलाइ कसैले अतिरञ्जित पार्न खोजेमा त्यसको विरुद्ध स्थानीय एक हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

श्रेया सुनार संघर्ष समितिका सदस्य झम्कनाथ देवकोटाले श्रेया परिवार आर्थिक अवस्थाले निकै कमजोर भएकोले सकेको सहयोग गर्न आह्वान गर्नुभयो ।

संघर्ष समितिका संयोजक मिनबहादुर विकले अपराधी प्रहरीको नियन्त्रणमा आए पनि अदालतले फैसला नगरेसम्म आफूहरुले संघर्ष जारी राख्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया