दुई अमेरिकी र एक बेलायतीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

 असोज १८, २०७५ बिहिबार ७:४४:१४ | रासस
unn.prixa.net

सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।  विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक छन् । 

‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।  पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ रहेका छन् । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर छन् । 

जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो । उहाँहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाउनु भएको थियो । 

यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ । 

पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनुछन् भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनेछन् । 

यसअघि गएकाे सोमबार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ । 

यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया