अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

 असोज १८, २०७५ बिहिबार १०:२५:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी – सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाको यो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकामा भएका अनाथ बालबालिकाको तत्थ्यांक संकलन हुँुदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।’ भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा सहयोग पुग्ने उपाध्यक्ष सिंहको दाबी छ । 

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । ६० वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रतिमहिना ५ सय रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको हो । 

डोटीमा एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गर्ने सायल गाउँपालिका पहिलो गाउँपालिका भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो । उहाँले भन्नुभयो ‘एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौँ । यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया