प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्य: पूर्वमन्त्री बलायर

 असोज १८, २०७५ बिहिबार १४:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ । 

सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उहाँको तर्क छ । डोटीको दिपायलमा बिहीबार अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा पूर्वमन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको दाबी गर्नुभयो ।

पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उहाँको भनाइ छ ।

‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ, हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ, उहाँले भन्नु भयो, उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु जे राखे पनि ठिक थियाे, तर कसैलाई हेपिने नाम राखिनु र्दुभाग्य हो ।’ 

प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा तत्कालीन भौतिक यातायत तथा निर्माण मन्त्री रहनु भएका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा भने आपत्ति जनाउनु भएको हो ।

साथै उहाँले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको दावी गर्नुभयो । प्रयोगितामा डोटी जिल्लाभरिका ८ विद्यालयका करिब एकदर्जन टिमहरु उक्त सहभागी छन् । 

प्रतियोगिता यहि असोज २० सम्म सञ्चालन हुने आयोजक संस्था सुजङ माध्यमिक विद्यालयका निर्देशक नरेश बलायरले बताउनु भयो । क्रिकेट विकाससँगै महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिन लागेको हो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनलमा हातमा कालोपट्टी बाँधेर सांकेतिक रूपमा महिला हिंसाको विरोध गरिने बताइएको छ । 
प्रतियोगिताको विजेता टिमले खसी पुरस्कार पाउने भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया