पोखराबाट जोमसोमसम्म आरामदायी बस सञ्चालन

 असोज १८, २०७५ बिहिबार १७:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराबाट बेनी हुँदै मुस्ताङको जोमसोमसम्म सुविधासम्पन्न बस सञ्चालनमा आएको छ ।

म्याग्दी कोरला यातायात प्रालिले बिहीबार पोखरामा एक कार्यक्रम गरी बससेवाको सुरुवात गरेको हो । 

म्याग्दीको बेनीबाट काठमाडौंसम्मको आरामदायी यात्रा प्रदान गर्दै आइरहेको प्रालिले यात्रुहरुको चाहना र मुस्ताङको मौसमलाई लक्षित गरी २७ सिट रहेको आरामदायी हिटर जडित बससेवा सुरु गरेको सञ्चालक नरेश रोकायले बताउनुभयो ।

११ सय रुपैयाँ भाडादर तोकिएको यो रुटका यात्रुले कफी, नास्ता र कोल्ड ड्रिङक्स लगायतका सुविधा पाउने उहाँको भनाई छ । अहिले ५ वटा बसमार्फत सेवा सुरु गरेको बताउँदै रोकाये आगामी दिनमा सुपरडिलक्स लगायतका बस मार्फत पनि सेवा दिने लक्ष्य रहेको जानकारी दिनुभयो । 

७ जना युवाहरु नरेश रोकाय, प्रकाश पौडेल, नगेन्द्र केसी, धनकुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको संयुक्त लगानी रहेको प्रालिले म्याग्दीमा आफ्नो प्रधान कार्यलय स्थापना गरेको छ । ६ महिना अघि नै विधिवत रुपमा दर्ता भई स्थापना गरिएको प्रालिमार्फत गण्डकी प्रदेशमा आन्तरिक बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य लिएको सञ्चालकहरुले बताएका छन् । भविष्यमा सौर्य र विद्युतीय गाडीहरु पनि सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

बससेवासँगै बिहीबारदेखि नै पोखरामा शाखा कार्यालय पनि सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले राजनितिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका युवाहरुको जमात उद्यमशीलतामा लागेको देख्दा खुसी लागेको बताउनुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन अब सबै युवाहरु उद्यममा लाग्नु पर्ने उहाको भनाई थियो । 

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले हरेक युवाहरु अब कुनै न कुनै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । 

यस्तै प्रदेशसभा सदस्य तथा मुस्ताङका जनप्रतिनिधि इन्द्रधारा बिष्टले कम्पनीबाट नागरिकको गुनासो नआउने गरी सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

मुस्ताङमा यातायात सञ्चालनमा आएका कठिनाई, बाधाअड्चनका विषयमा आफूसँग कुरा राख्न उहाँले व्यवसायीहरुलाई आग्रह पनि गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • sumit rai

    Oct. 4, 2018, 7:24 p.m.

    त्यस्तो अफ रोड वाटोमा कसरी लक्जरी बस चलाउने हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया