मिठाईमा झिँगा र साङ्ला भेटिएपछि गौशालाका दुइटा मिठाई पसलमा शिलबन्दी

 असोज १८, २०७५ बिहिबार १७:२८:७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले काठमाडौंको गौशालामा रहेका दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालामा रहेको व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो । 

झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भीर नोक्सान पुर्‍याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । विभागले यसअघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाएपछि शिलबन्दी गरेको थियो । 

खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, बिक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कारबाही गर्ने चेतावनी पनि दिनु भयो ।

विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको झण्डै १ सय २० केजी मिठाईलगायतका बस्तुहरु नष्ट पनि गरेको छ । दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ । 

खाद्य ऐन अनुसार गुणस्तरहीन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ । 

सरकारले दसैँ, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कारबाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिनु भयो । विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई निरन्तरता दिएको हो । 
    

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • Jesus

    Oct. 5, 2018, 8:13 a.m.

    एकदम वकवास खबर .....सक्छ भने एकदम रियल न्युजको पछाडी न्युज बनाउ /

  •  0 Reply
  • hari bahadur gurung

    Oct. 5, 2018, 4:12 a.m.

    राम्रो काम !

  •  0 Reply

तपाईको प्रतिक्रिया