मूल्य सूची राख्दैनन् रोल्पाका व्यापारीहरु

 असोज १९, २०७५ शुक्रबार ९:८:३१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – बजारमा दैनिक उपभोग्य बस्तु किन्दा एउटा बस्तुको मूल्य जुनसुकै पसलबाट किन्दा पनि उस्तै हुनुपर्ने हो । तर रोल्पाका पसलहरुमा मूल्य सूची नै नभएपछि कुन सामानलाई कति मूल्य पर्छ भन्नेमा उपभोक्ताहरु अलमलमा छन् ।

जिल्लाको सदरमुकाम लिबाङ बजारका कुनै पनि पसलमा मूल्य सूची नहुँदा उपभोक्ताहरु एउटै सामानलाई पसलैपिच्छे फरक–फरक मूल्यमा किन्न बाध्य छन् । चाड पर्वको समयमा व्यापारीहरुले मनोमानी ढङ्गले दैनिक उपभोग्य सामानको मूल्य तोक्दा आफूहरु मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ ।

चाड पर्वको समयमा व्यापारीहरुले दैनिक उपभोग्य सामानमा एक्कासी मूल्य वृद्धि गरेको सदरमुकाम लिबाङमा डेरा गरेर बस्दै आएका प्राध्यापक गोकर्ण पुनको गुनासो छ । ‘बजारमा खाना पकाउने ग्यास, नुन, तेल, चामलको मूल्य पसलै पिच्छे फरक छ’ पुनले भने ‘मूल्य सूचि कुनै पसलमा पनि राखिएको छैन् । एकातिर व्यापारीको मनोमानी र अर्काेतिर उपभोक्ताहरुमा सचेतना नहुँदा ठगिने गरेको उहाँको भनाइ छ ।

उपभोक्ता अधिकार मञ्च रोल्पाका संयोजक मोहन परियारले स्थानीय प्रशासनले वार्षिक योजना अनुसार मात्र अनुगमन गर्ने गरेकाले मूल्य वृद्धि र कालो बजारी हुने गरेको बताए । चाड पर्वमा मात्र नभई जुनसुकै बेला पनि अनुगमन गरी कारबाही गर्न सकेमा मात्रै यस्तो समस्या हट्ने उहाँको भनाइ छ ।

स्थानीय प्रशासनले अनुगमनका क्रममा मूल्य सूची राख्न निर्देशन दिने गरेको भएता पनि व्यापारीहरुले भने निर्देशन पालना गरेको पाईँदैन । पटक पटक निर्देशन गर्दा पनि अटेर गर्ने व्यापारीहरुलाई अब भने कारबाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी अनुषा कोइरालाले बताउनुभयो । ‘हामीले पनि अनुगमनका क्रममा मूल्य सूची नराखेको पाएका छौं’ सहायक प्रजिअ कोइरालाले भन्नुभयो ‘निर्देशन पालना नगर्ने व्यापारीहरुलाई अब कारबाहीको दायरामा ल्याउने सोँचीरहेका छौं ।’

चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । यो समयमा बजारका कुनै पनि पसलमा मूल्य सूची नहुनु भनेको उपभोक्ता ठगिनु भएकोले उपभोक्ताहरु आफैँमा पनि चनाखो बन्नुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया