भूकम्पपीडितले अनुदानको किस्ता पाउन सकेनन्

 असोज १९, २०७५ शुक्रबार ९:१६:५३ | किरण लोहनी

गोरखा – गोरखामा भूकम्पपीडित लाभग्राहीले पाउने अनुदान रकम वितरण फेरि रोकिएको छ । अरु निकायले अनुदान रकम सिफारिसको काम गरिरहे पनि अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार इकाईमा आएर फाइल रोकिएका हुन् । इकाईका प्रमुख नहुँदा सिफारिस गरिएका फाइल कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउन नसकिएको हो । यसअघिको प्राविधिक कार्यालयका प्रमुखलाई नै पुननिर्माण प्राधिकरणले अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार इकाई प्रमुखको जिम्मेवारी दिएको छ । 

तर इकाई प्रमुख रामकुमार श्रेष्ठ लामो समयदेखि बिदामा हुनुहुन्छ । चीन भ्रमणमा गएका श्रेष्ठ केहीदिन अघि नेपाल फर्किए पनि कार्यालयमा हाजिर हुन नआउनु भएको हो । उहाँको अनुपस्थितिमा इन्जिनियर सन्तोष अर्यालले निमित्त प्रमुखको रुपमा काम गर्दै आएकोमा उहाँको समेत सरुवा भएपछि भूकम्पपीडितले अनुदानको किस्ता पाउन नसकेका हुन् । भूकम्प प्रभावितले ब्यक्तिगत आवास पुननिर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ पाउँदै आएका छन् । 

सम्बन्धित वडाको सिफारिसका आधारमा भवन डिभिजन, अनुदान व्यवथापन इकाई हुँदै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भूकम्प प्रभावितले किस्ता रकम पाउँछन् । तर हस्ताक्षर गर्ने कार्यालय प्रमुख नभएपछि स्थानीय तह, भवन डिभिजन हुँदै आएका फाइल अनुदान व्यवथापन इकाईमै रोकिएका हुन् । एक साताकोबीचमा झण्डै दुई हजार भूकम्पपीडितको फाइल रोकिएको कर्मचारीहरुले बताएका छन् । रोकिएका फाइलमध्ये तेस्रो अर्थात अन्तिम किस्ता माग गर्नेको संख्या धेरै छ । 

तेस्रो किस्ताका लागि सिफारिस भएर आएको १५ सय ३४ फाइल अनुदान व्यवथापन इकाईमा रोकिएको हो । यस्तै दोस्रो किस्ता माग गरिएका ३ सय ५० फाइल पनि प्रक्रिया अनुसार अघि बढ्न सकेको छैन । चाडबाडको मुखमा अनुदानको किस्ता रकम रोकिएपछि भूकम्पपीडित लाभग्राही निराश भएका छन् । 

अनुदान व्यवस्थापन इकाईका प्रमुख रामकुमार श्रेष्ठले केही दिनमा कार्यालय गएर रोकिएका फाइल अघि बढाउने बताउनुभएको छ । “खासमा मेरो पनि सरुवा भैसक्यो, गोरखामा कसलाई पठाउँछ भन्ने टुंगो छैन” उहाँले भन्नुभयो, “अब शनिबार गोरखा जान्छु, रोकिएको किस्ता दसैं अघिनै पाउने वातावरण बनाउँछु ।” 

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया