दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने

 असोज १९, २०७५ शुक्रबार १२:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने नारायणगढ मुग्लिन सडक आयोजनाले दाबी गरेको छ । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले अब यो सडकखण्डमा लामो जाममा बस्नुनपर्ने दाबी गरेको हो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यो सडकखण्डमा सडक सुरक्षाको थोरै काम बाहेक अरु सबै काम सकिएको छ । यस्तै पहिरो गैरहने ठाउँमा पनि पहिरो नखस्ने प्रविधि अपनाइएकाले अब नारायणगढ–मुग्लिन सडकको यात्रा सहज हुने उहाँको भनाई छ । 

यो सडकखण्डमा साँघुरा पुलमा केही जोखिम रहेको भन्दै उहाँले १८ वटा पुलमा पुग्ने वित्तिकै गाडीको गति कम गर्न चालक बाध्य हुने विधि अपनाइएको पनि जानकारी दिनुभयो । यस्तै सडक भासिएको ठाउँमा मर्मतको काम चाडपर्वपछि हुने पनि आयोजनाका सूचना अधिकारी खनालले बताउनुभयो । 

अहिले नै मर्मत गर्दा फेरि जाममा बस्नुपर्ने बाध्यता हुने भएकाले चाडपर्वपछि मात्रै मर्मतको काम गर्ने आयोजनाले जनाएको छ । यो सडकखण्डको १७ किलो, २६ किलोलगायतका केहि ठाउँमा सडकभन्दा तल बनाइएको पर्खाल भत्किएर सडक भासिएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया