अब कांग्रेस पाँचवटा ‘स’ बाट रुपान्तरण हुन्छ – सांसद संग्रौला

 असोज १९, २०७५ शुक्रबार १४:३८:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – चुनावबाट हार ब्यहोरेको नेपाली कांग्रेस अब नयाँ ढंगले अघि बढेको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. डिला संग्रौलाले बताउनु भएको छ ।

शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद संग्रौलाले यस्तो बताउनुभएको हो । 

स्थानीय तह र संघीय चुनावमा हार ब्यहोरेपछि नेपाली कांग्रेसले जागरण अभियान अन्तर्गत कदम अगाडि बढाएको बताउँदै संग्रौलाले पाँच ओटा ‘स’ बाट कांग्रेस रुपान्तरण हुने बताउनुभयो ।

पाँच ओटा ‘स’ को अर्थ नेपाली कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, संवाद र सहमतिका काम गर्ने, त्यो नभए सडक तताउने र त्यो पनि नभए सत्याग्रह गर्ने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले पहिलो चरण अन्तर्गत संसदमा सशक्त प्रतिपक्षको भूमिका निभाउने उहाँले बताउनुभयो । अब सरकारको आलोचना गर्न सुरुवात भएको उहाँको भनाई छ ।

‘सरकारको राम्रो कामको प्रशंसा गदै नराम्रो कामको आलोचना गर्ने प्रतिपक्षको धर्म हो’, उहाँले भन्नुभयो, ‘तर अहिले सरकारले दण्डहिनता बढाएको, शान्ति सुरक्षा दिन नसकेको र मूल्यवृद्धि चरम उत्कर्षमा पुग्दा समेत नियन्त्रण गर्न सकेको छैन् ।’

‘सरकारमा दुई तिहाईको दम्भमा अघि बढेको छ । स्थानीय तहमा नागरिकको ढाड सेक्ने गरी कर बढाउँदा समेत सरकार टुलुटुलु हेरेर बसेको छ । ३३ केजी सुनकाण्डको मुख्य दोषि अझै पत्ता लगाउन सकेको छैन । यातायातको सेण्डिकेट हटाउन सकेको छैन’, उहाँले भन्नुभयो, ‘सरकारले नालायकपना देखेर नागरिकहरुको विश्वास र भरोसा टुट्न थालेको छ ।’


 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया