पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, रौनियार सांसदबाट निलम्बित

 असोज १९, २०७५ शुक्रबार १६:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार, उनका छोरा तथा अहिलेका अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

हरिनारायाण रौनियार संघीय समाजवादी फोरम नेपालका सांसद हुन् । भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै उनको सांसद पद निलम्बनका परेको छ । पप्पु कन्स्ट्रक्सनले समयमा नै ठेक्काको काम नसकेको, गुणस्तरहिन काम गरेकोलगायतका आरोप लाग्ने गरेपछि रौनियारले पप्पु कन्स्ट्रक्सनको अध्यक्षबाट राजीनामा दिएर छोरालाई अध्यक्ष बनाएका थिए । 

पप्पु कन्स्ट्रक्सनबाट राजीनामा दिएको भने पनि ठूला–ठूला र महत्वपूर्ण ठेक्का हात पार्न रौनियारले आफ्नो राजनीतिक सम्बन्धलाई प्रयोग गर्दै आएका थिए । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग भएको, पुल बनाउँदा नै बाङ्गो देखिएको  र उद्घाटन नहुँदै भत्किएको लगायतको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको हो । 

गएको वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । अहिले उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।
अख्तियारले पप्पु कन्स्ट्रक्सनको अहिलेका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया