मङ्सिरदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

 असोज २०, २०७५ शनिबार ६:४१:२८ | रासस

काठमाडौँ - काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो । 

महाशाखाका तत्कालीन प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरे पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । 

महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो हुने र चालकको बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउनुभयो । 'ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ', उहाँले भन्नुभयो । 

महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । त्यसैअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले फ्लोरेसेन्ट ज्याकेट लगाउँदै आएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया