काठमाडौं म्याराथनको उपाधि आर्मीका श्रेष्ठले जिते, राष्ट्रिय कीर्तिमान बनाउन चुके एक सेकेण्डले

 असोज २०, २०७५ शनिबार ११:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं म्याराथनको पुरूष तर्फको उपाधि आर्मीका होमलाल श्रेष्ठले जितेका छन । 

उनी कुल २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भए । उनी राष्ट्रिय कीर्तिमान बनाउनबाट एक सेकेण्डले पछि परेका छन् । म्याराथनमा भूमिराज राईको नाममा दुई घण्टा २० मिनेट ४४ सेकेण्डको राष्ट्रिय कीर्तिमान कायम छ । उनले आफ्नै क्लबका राजन खत्रीलाइ पछि पार्दै च्याम्पियन बने । राजनले २ घण्टा २३ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गरे । भूमिराज राई भने तेस्रो भए । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको झण्डै ४ हजारको सहभागिता रहेको म्याराथनको उपाधि जितेको होमलालले एक लाख रूपैयाँ पाए । दोस्रो भएका राजनले ५० हजार हात पारे ।

यस्तै हाफ म्याराथनको महिलातर्फको उपाधि त्रिभूवन आर्मीकै विश्वरुपमा बुढाले जितिन् । उनले एक घण्टा १० मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गर्दै पुष्पा भण्डारी तेस्रो भइन् ।

हाफ म्याराथनको पुरुष तर्फको स्वर्ण पदक एपीएफका गोपीचन्द्र पार्कीले जिते । उनले निर्धारित दूरी एक घण्टा सात सेकेण्डमा पार गरे । आर्मीका रामजी बस्नेत दोस्रो भए । रामजीले एक घण्टा २१ सेकेण्ड लगाएका थिए । एपीएफका सन्तोष विक्रम विष्ट तेस्रो भए । सन्तोष रामजी भन्दा एक सेकेण्डले पछि परेका थिए । 

यस्तै ह्वील चेयर विधामा पुरुषतर्फ पुरुषतर्फ कृष्णराज चौधरी र महिलातर्फ यामी झाँक्री मगर पहिलो भए । 

पुरुषको पाँच किलोमिटर दौडमा अमित यादव पहिलो भए भने मिलन कार्की दोस्रो र जितेन्द्र दनुवार तेस्रो भए । पाँच किलोमिटरको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, सानुमाया दोस्रो र फूलमती राना तेस्रो भए ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया