केरुङबाट दसैँका लागि ल्याइयो भेडा–च्याङ्ग्रा

 असोज २०, २०७५ शनिबार १९:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – दसैँ नजिकिँदै जाँदा चीनको केरुङबाट भेडा च्याङ्ग्राको आयात सुरु भएको छ ।

शनिबार रसुवागढी नाका हुँदै झण्डै २ सय भेडा च्याङ्ग्रा नेपाल भित्र्याइएको छ । झण्डै दुई साता लगाएर तिब्बतबाट पहिलो चरणमा भेडा–च्याङ्ग्रा ल्याइएको व्यापारी दिवाकर न्यौपानेले बताउनुभयो ।

‘सवारीको चापका कारण ल्याउन निकै कठिन भयो’, उहाँले भन्नुभयो, कालिकास्थानसम्म पुर्‍याउन झण्डै चार दिन लाग्ने अनुमान छ ।’ आयात गरिएको भेडा–च्याङ्ग्रा जिल्लाको टिमुरे, स्याफ्रु, धुन्चे, राम्चे, कालिकास्थान लगायतका बजार क्षेत्रमा बिक्रि गर्दै नुवाकोटसम्म पुर्‍याइने उहाँले बताउनुभयो । गएको वर्ष न्यून सङ्ख्यामा आयात भएपनि यो वर्ष भेडा–च्याङ्ग्राको आयात बढेको उहाँको भनाइ छ । 

नेपाल ल्याइएको भेडा–च्याङ्ग्राको मूल्य २३ हजारदेखि २६ हजारसम्म पर्ने बताइएको छ । २०७० सालअघिसम्म भेडा–च्याङ्ग्राको आयात राम्रो हुने गरेको थियो । पछिल्लो समय अन्य नाकाबाट समेत आउने क्रम बढेपछि यो नाकाबाट आयात घटेको थियो । 

२०७० सालमा २ सय २, २०७१ मा १ सय ८० र २०७३ मा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेडा–च्याङ्ग्रा आयात गरिएको सरकारी तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया