कलंकी — नागढुंगा सडकमा हिँड्नै गाह्रो, स्थानीयबासिन्दा बिरामी पर्न थाले

 असोज २१, २०७५ आइतबार १२:५४:४७ | नवराज फुयाँल
unn.prixa.net

कालीमाटीका निरज कार्की दिनहुँ सतुंगल ओहोरदोहोर गर्नुहुन्छ । बिहान १० बजेदेखि सुरु हुने ड्युटी भेट्न ९ बजेभन्दा अगाडि नै घरबाट निस्कनुहुन्छ । बाटो सही भएको भए कालीमाटीबाट सतुङ्गल पुग्न मोटरसाईकलमा बढीमा दश मिनेट मात्रै लाग्छ । तर अहिले दिनहुँ हुने सवारी जाम र जीर्ण सडकका कारण एक घण्टाभन्दा बढी लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । 

त्रिपुरेश्वरबाट नागढुंगासम्मको दूरी पनि जम्मा साढे बाह्र किलोमिटर मात्रै हो । तर यो दूरी छिचोल्न घण्टौंसम्मको सास्ती ब्यहोर्न यात्रुहरु बाध्य छन् । सडक विस्तार गर्न थालिएको पनि तीन वर्ष बितिसकेको छ । तर विस्तारको कामले गति नलिँदा यस्तो समस्या आएको बताउनुहुन्छ, चन्द्रागिरी नगरपालिकाका स्थानीय बासिन्दा राजेश श्रेष्ठ । 

सडकमा उड्ने धूलोका कारण श्वासप्रश्वास लगायतका समस्या हुनुका साथै व्यापार व्यवसाय समेत चौपट भएको भन्दै स्थानीयले तत्काल सडक विस्तार सक्न पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकेका छन् ।

केही दिनअघि मात्रै सडक नै ठप्प पारेर यो सडक खण्डका स्थानीय आन्दोलनमा उत्रिएका थिए । ठेकेदारले मंसिरसम्ममा सडक सुधारका काम सक्ने प्रतिवद्धता जनाएपछि स्थानीयको आन्दोलन फिर्ता भएको थियो ।  

ठेकेदार पक्षले सडकमा परेका घरहरु हटाउन नसक्दा काममा ढिलाई भएको भन्दै आएको छ । सर्वोच्च अदालतले पनि उचित क्षतिपूर्ति नदिएसम्म व्यक्तिगत सम्पत्ति प्रयोग गर्न नपाउने भनेर फैसला दिएका कारण सडक विस्तारको कामले ढिलाइ भएको अर्का स्थानीय हेम कसजू बताउनुहुन्छ । 

चन्दागिरि नगरपालिका १५ का बलराम क्षेत्रीको घर सडकमै परेको छ । घरको अघिल्लो भाग यसअघि नै भत्काएको भए पनि अझै केही भाग भत्काउन बाँकी छ । घर भत्काएर कहाँ जाने ? राज्यले उचित व्यवस्था नगरी सुकुम्बासी बनाउन खोजेको भन्दै त्यसको विरोध मात्रै गरेको बताउनुहुन्छ, क्षेत्री ।  

‘हामी विकास विरोधी होइनौँ,’ उहाँले भन्नुभयो, ‘तर हाम्रो गास, बास, कपासको व्यवस्था नभइ कसरी घर भत्काएको हेरिरहुँ ?’ राज्यले हामीलाई उचित व्यवस्था मिलाए तत्काल छाड्न तयार रहेको उहाँले बताउनुभयो । बिहान लगाएको लुगा बेलुका हेरिसाध्ये नहुने उहाँको भनाइ छ ।  

‘धुलो हो कि धुवाँ थाहा पाउनै मुश्किल छ,’ चन्द्रागिरि वडा नम्वर १५ को कार्यालय नजिकै चिया पसल गरेर बस्ने अम्बिका थापाले भन्नुभयो ‘घरभरि धुलो पसेर बस्नै नहुने बनाउँछ । थापाले यहाँ चियापसल थालेको पनि १५ वर्ष भयो । पहिला यस्तो थिएन, पछिल्लो २/३ वर्षदेखि यस्तो धुलो धुवाँले सताएको छ ।’

धुलो धुवाँले गर्दा चियापसलमा पनि अहिले ग्राहक आउन कमी भएको उहाँले सुनाउनु भयो । ‘पसल त समय कटाउनका लागि थापे जस्तै भएको छ,’ उहाँले भन्नुभयो, ‘सडक बनाउन थालेपछि घाटा मात्रै सहनुपरेको छ ।’ 

ढुंगेअड्डाबाट चन्द्रागिरि जाँदै गर्नुभएकी पवित्रा घिमिरेले दुई वर्षका छोरा बोक्नु भएको छ । उहाँले छोराको शरीर पुरै सलले ढाक्नुभएको छ । उहाँ आफैं पनि नाकमुख छोप्ने गरी मास्क लगाएर पैदलै हिँडिरहनुभएको छ ।

‘यो सडकमा हिँडी नसक्नुको धूवाँधूलो छ, आफैं त बिरामी भइएला भन्ने हुन्छ, बच्चा त झन छिटो बिरामी हुन्छ, यसरी नबोके के गर्नु ?,’ उहाँले भन्नुभयो । 

दिनहुँ सवारी चलाउने चालकको पनि आफ्नै पीडा छ । वीरगंजबाट दसैंको सामान लिएर काठमाडौँ आउँदै गरेका चालक पप्पु सिंहले भन्नुभयो, ‘यो सडकखण्डमा दैनिक जाम हुन्छ, भत्केको सडकका कारण निस्कने धुलोले गाडी चलाउन पनि समस्या छ ।’

तराईमा जाडो महिनामा लाग्ने हुस्सुभन्दा पनि बढी धुलो धुवाँ उडेर अगाडि देख्नै सकिन्न । नचाहँदा नचाहँदै पनि कसैलाई ठक्कर देला कि भन्ने डरले सताइरहन्छ’ उहाँले भन्नुभयो ।  

चन्द्रागिरिकै बलराम क्षेत्रीले सडकबाट निस्केको धुलो धुवाँले छाती पोल्ने गरेको र श्वासप्रश्वासको रोग आफूलाई देखिएको बताउनुभयो । ‘अहिले त दवाई खाँदा पनि छुँदैन,’ उहाँले भन्नुभयो, ‘दिनहुँ धुलो धुवाँले गर्दा अकालमै ज्यान जाला जस्तो भइसक्यो ।’ धूलोमा हिँड्न सक्ने अवस्था छैन । ‘ढुक्कले सास फेर्न पनि पाउन सकिएन,’ उहाँले भन्नुभयो ‘यसरी कहिलेसम्म बाँच्ने ?’ 

खाेर्इ क्षतिपूर्ती ?

नेपालको संविधानले धुलो धुवाँरहित स्वच्छ वातावरणमा जीउन पाउने हक सुनिश्चित गरेको छ । संविधानको मौलिक हक अन्तर्गत दफा ३० ले स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । यो दफामा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेर संविधानले नै प्रत्याभूति गरिदिएको छ । 

वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदुषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानले सुनिश्चित गरिदिएको छ । तर सडक विस्तारको नाममा सरकारले नै प्रदुषण फैलाई रहेको छ ।

समयमै विस्तारको काम नसक्दा यस क्षेत्रका बासिन्दा लामो समयदेखि धुलो धुवाँमै दैनिक जीवन यापन चलाउन बाध्य हुँदै आएका छन् । यसरी प्रदुषणमै जीवनयापन गर्नुपर्ने बाध्यतामा परेका नागरिकलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने होइन र ? भन्ने प्रश्न पनि उब्जिन थालेको छ ।  

सडक विस्तारको काममा ढिलाई

कलंकीदेखि नागढुंगासम्म सडक विस्तारकै क्रममा छ । सडक विस्तार गर्ने भन्दै दुबैतर्फ भत्काइएका संरचना र सडकमा समेत रहेका ठूल्ठूला खाल्डाखुल्डीका कारण उड्ने धुवाँ धुलोले सडक झनै हिँडिनसक्नुको बनेको छ ।  

अहिलेसम्म सडक विस्तारको तीस प्रतिशत काम मात्रै पुरा भएकाले अझै केही वर्ष जाम र धुलो धुवाँको समस्या नहट्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  

९ दशमलव १ किलोमिटर लामो कलंकी–नागढुंगा सडक खण्ड निर्माणको जिम्मा शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन तथा शर्मा र कान्छाराम जेभीले लिएको हो ।  

सडकलाई ३ खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । ठेक्का ०७२ असार ३१ मा लागेको हो । दुई खण्डकाको निर्माण प्रगति ४५ र अर्कोको करिब ६० प्रतिशत मात्रै भएको छ ।

निर्माण सुस्त हुँदा त्यसको असर सडक आसपासका स्थानीयले खेप्नुपरेको त छँदैछ । यो रुट भएर आवतजावत गर्ने यात्रु र चालकले पनि समस्या भोग्नु परिरहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया