जनकपुरमा वडाध्यक्षको घरमा डोजर चल्यो

 असोज २१, २०७५ आइतबार १६:३२:५७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष प्रमेश्वर साहको घरमाथि डोजर चलाइएको छ ।

जनकपुरको पीडारीचोक र थापाचोकको बीचमा रहेको वडाध्यक्ष साहको घरमाथि आइतबार बिहान डोजर चलाइएको हो । वडाध्यक्ष लगायत त्यहाँका अन्य ४–५ जनाको सडकमा पर्ने घरको भाग डोजर लगाएर तोडिएको छ ।

उपमहानगरपालिकाले सडकमा परेको वडाध्यक्षको घर तोड्न पटक–पटक आग्रह र परिपत्र समेत गर्दा नतोडेपछि डोजर चलाएर तोडिएको मेयर लालकिशोर साहले बताउनुभयो । 

जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी एकीकृत शहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माण एवं विस्तारको काममा वडाध्यक्षले घर नतोडेपछि तीन महिनादेखि अवरोध भएको भन्दै डोजर लगाएर तोडिएको मेयर साहको भनाई छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घर आइतबार बिहान ९ बजे व्यापक प्रहरीको उपस्थितिमा डोजर लगाएर भत्काइएको हो । वडाध्यक्ष प्रमेश्वरले सडकमा परेको आफ्नो घरको भाग नतोड्दा जनकपुरको पीडारीचोक र थापाचोकको बीचमा पर्ने अन्य ४–५ जनाले घर तोड्न नमानेपछि त्यहाँ सडक निर्माणको काम अवरुद्ध भएको मेयर साहको तर्क छ ।

घर तोड्ने क्रममा वडाध्यक्ष प्रमेश्वर साहसहित परिवारले घर अगाडि अवरोध गरेपछि प्रहरीले धडपक र दुव्र्यवहार समेत गरेका छन् । वडाध्यक्षसहित उहाँकी पत्नी चाँदा साह, दाइ लालबाबु साह र भान्जा वसन्त साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले तीन घण्टा हिरासतमा राखेर छोडेको छ । 

आउँदो ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडीबी परियोजनाको काम पीडारीचोकमा वडाध्यक्षको घरले अवरोध भएको भन्दै केही स्थानीयहरुले पटक पटक सडक अवरुद्ध गर्ने गरेका थिए ।

केही दिनअघि मेयर लालकिशोरलाई स्थानीयहरुले घेराबन्दी समेत गरेका थिए । आइतबार बिहान समेत त्यहाँका केही स्थानीयहरुले तेश्रो पटक वडाध्यक्ष साहको घर तोड्नु पर्ने र सडक निर्माणको काम गर्नुपर्ने भन्दै चक्कजाम समेत गरेका थिए ।

चक्कजाम खोलाउन पुगेका मेयर लालकिशोर र उपमेयर रिता झालाई घर अहिले नै तोड्नु पर्ने स्थानीयले दबाब दिएपछि प्रहरीको सहयोगमा एकाएक घरमाथि डोजर चलाइएको स्थानीयवासीहरुले बताएका छन् । 

जनकपुरको अन्य दुई–तीन स्थानमा अवरोध भएको र त्यसको कारणले सडक निर्माण र विस्तार जस्ता विकासको काममा ढिलाई भएकाले अब त्यस्ता घरमाथि पनि डोजर चलाइने मेयर साहले चेतावनी दिनुभयो ।  

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर र उपमेयर रीता झा राजपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन् ।

मेयरको गलत क्रियाकलापको विरोध गर्दा मेरो घरमाथि डोजर चल्यो : वडाध्यक्ष साह

यता वडाध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दाबी गर्दै मेयर लालकिशोरले पूर्वाग्रही र रिसइबी साध्न घर भत्काएको आरोप लगाउनुभयो ।

२०७० सालमा भएको साढे ५२ फिट सडक नापीमा आफ्नो घर नपरेको बताउँदै वडाध्यक्ष प्रमेश्वरले भन्नुभयो, ‘एकाएक मेरो घरमाथि डोजर चल्योे, रोक्न खोज्दा पूरा परिवार माथि नै प्रहरी लगाएर ज्यादती गर्यो, अन्याय गर्यो । पक्राउ गरेर प्रहरी हिरासतमा राखियो ।’

सुरुदेखि नै मेयर लालकिशोरको गलत क्रियाकलापको विरोध गर्दा यस्तो दुर्दशा भोग्नु परेको र आफ्नो घरसमेत त्यही कारणले तोडेको वडाध्यक्ष प्रमेश्वरले आरोप लगाउनुभयो । 

मेयर लालकिशोरले भारतीय प्रधानमन्त्री मोदी भ्रमणको नाममा बाह्रबिघा मैदानको भित्ता पेन्टिङ, जानकी मन्दिरको रंगरोगनको नाममा लाखौं भ्रष्टाचार गरेको, नगरपालिका कार्यालयमा आफन्त नातागोतालाई जागिर दिएको र डेढ करोडको गाडी किनेर चढेको लगायतको कुराहरुको  विरोध गर्दा पहिलादेखि नै मेयरले आफ्नो घर तोडिदिने धम्की दिने गरेको वडाध्यक्ष प्रमेश्वरको आरोप छ ।

उहाँले आफूमाथि भएको ज्यादतीको विषयमा छानबिन समिति गठन गरेर निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । दोषी जो कोहीमाथि कारबाही हुनेपर्ने माग गर्दै वडाध्यक्ष साहले आफू मेयरको ज्यादती विरुद्ध कानुनी उपचारमा समेत जाने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया