​मनचिन्ते थुम्कोमा मोनोरेल जुधे, कान दुखेर हैरान !

 बैशाख १२, २०७५ | मिलन तिमिल्सिना
unn.prixa.net

गाडी र हिलोको बाढीले भरिने काठमाडौं शहरका सडकमा एकाएक बाढी र गाडीभन्दा धेरै आए रेल ! चक्रपथमा मेट्रो रेल, असन, इन्द्रचोक, न्यूरोड, भेडासिंहदेखि पाटनका भित्री शहर गावहाल र छावहाल, मंगलबजार जताततै मोनो रेल ।

हे दैव के हुन लाग्यो भनेर हेर्दा रिंगरोडको बालाजु नजिक चीनबाट केरुङ हुँदै हुईंकिएर आएको अक्सिजनयुक्त उत्तरी रेल । लौ सपना साकार भएछ भन्ने ठानेर सातदोबाटोतिर हेर्दा भारतको रक्सौल हुँदै दक्षिणबाट आएको बिजुली रेल ! हेर्दाहेर्दै देखियो उत्तर र दक्षिणबाट छुटेका अत्याधुनिक रेलको काठमाडौंमा मेल । सुरु भैसकेछ यो जात्राको शहरमा जताततै रेलको जात्रा ! रेल जात्राको अवसरमा मन्त्री, सांसद र मेयरहरु लाखे जसरी नाचेका छन्, प्रधानमन्त्री के.पी. शर्मा ओली भाले जसरी बासेका छन् । 

दुई चार वर्षमा यो के भयो हजुर ! नेपालमा त जताततै कि खानेपानीको भेल कि त जताततै रेलै रेल ! पूर्व पश्चिम रेल, उत्तर दक्षिण रेल । सडकमुनी सुरुङ भित्र पस्दै फुत्त बाहिर निस्कने छुकछुके रेल । सडकमाथि आकाश छुँदै झुण्डिने स्काई रेल । सिमेण्टका पिलरमा हिँड्ने मोनोरेल । फलामका पातामा चरा झै माथि तल गर्ने मेट्रोरेल । यता पनि रेल, उता पनि रेल । 

चुनावको बेला घोषणापत्रमा देखिएको थियो रेल । घोषणा पत्र बमोजिम नै कांग्रेसको छुट्टै रेल, वाम पार्टीको छुट्टै रेल । ओली रेल, महासेठ रेल, बिद्यासुन्दर रेल, चिरिबाबु रेल । कति हो कति हजुर, शहरमा मोटर साईकलभन्दा धेरै रेल !

पहिला पहिला यो देशमा तेलका कुरा हुन्थे । तरकारीमा हाल्ने तेल, गाडीमा हाल्ने तेल । कपालमा दल्ने, जीउमा घस्ने थरिथरिका तेल । भान्सादेखि सडकसम्म नभई नहुने भएकाले तेलकै चिन्ता हुन्थ्यो । तर नयाँ संविधान आएपछि सबै कुरा नयाँ भएको छ । संविधान जारी भएका दिनदेखि तेलको संकट के सुरु भएको थियो, रेलको कुरा शुरु भैहाल्यो । त्यो दिनदेखि आजका मितिसम्म तेललाई रेलले जितेको छ । रेलकै कुरा र रेलकै चिन्ता धेरै हुन्छ । 

रेल नदेख्ने नेपाली कमै होलान् । रेल चढ्ने त कति छन् कति । हाम्रा पुर्खाहरुले पनि रेल चढेकै हुन् । २०२३ सालसम्म अमलेखगञ्जबाट वीरगंजसम्म रेल चल्थ्यो । केही वर्ष अघिसम्म जयनगरबाट जनकपुरसम्म पनि रेल गुडेकै थियो । काठमाडौंको भृकुटीमण्डपमा अहिले पनि बालरेल चल्छ । प्रत्यक्ष हेर्न नपाउनेले पनि फिल्म, टिभी र पत्रपत्रिकामा रेल देखेकै छन् ।  

त्यसमाथि चुनावको बेला सबै दलहरुका घोषणापत्रमा रेल कुदे । पूर्वदेखि पश्चिमसम्म, काठमाडौंदेखि पोखरासम्म, उत्तरदेखि दक्षिणसम्म जताततै रेलका कुरा । अहिले प्रधानमन्त्री र मन्त्रीहरुका मुखबाट प्रति घण्टा २ सय ५० किलोमिटरको गतिमा रेल कुद्छन् । 

कुरा सुन्दै हेटौडा पुग्यो, मुख्यमन्त्री डोरमणि पौडेलसित चिया खायो । कुरा सुन्दै पूर्ब लाग्यो, एक नम्बरका मुख्यमन्त्री शेरधन राईसित लञ्च खायो । कुरा सुन्दै ७ नंवरका मुख्यमन्त्रीसित बसेर डिनर खायो । अनि ५ नंवरका मुख्यमन्त्रीसित दुई चार चुस्की लाउँदै आएर काठमाडौमा सुत्यो । सपनामा रेल चढ्यो, सपनामै कुद्यो, सपनामै खायो, सपनामै रमायो, सपना मै मात्यो, सपना मै हाँस्यो । हजुर रेलले पहिले सपना देख्न सिकायो, अहिले सपनामा रेलले त्रसित हुनेगरि कुदाएको कुदायै छ ।   

अहिलेका प्रधानमन्त्रीले पहिले प्रधानमन्त्री भएकै बेला रेल ल्याउँछु भनेका । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रेलकै कुरा गरेर चुनाव जितेका । काठमाडौंमा त मेट्रो र मोनो रेल चलाउनेबारे विस्तृत अध्ययन प्रतिवेदन नै सुरु भैसक्यो रे । अब ढिलोमा ५ वर्षभित्र काठमाडौंमा रेल चल्छ रे । तर मनमा कुदेको आफ्नो रेलमा ब्रेक लागेको छैन । न ईञ्जिन, न लिग, न चालक । तर कुद्न छाडे पो ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले त ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएरै छाड्छौं भनेर भाषण गरेको महिना दिन बितिसक्यो । उनका अनुसार बढिमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिबास–सिमरासम्म रेल कुद्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भनेका थिए । तर प्रधानमन्त्रीलाई उछिन्नेगरी मन्त्रीले ६ महिना भने । प्रधानमन्त्रीले भन्दा छिटो यातायात मन्त्रीले ल्याउने भनेका दिनदेखि मेरो मनलाई हुने नहुने सबथोक भो । मनमै रेलका लिक गाडिए । लिक भएपछि कुद्न बाटो खुल्यो । त्यसपछि मनमा रेल कुदेको छ, बिजुली, तेल, पानी खर्च गरेको छ । हजुर रेलका कुरा आएपछि दिमागले शुरु गरेको कडा दौड आजसम्म थामिने लक्षण नै देखाएको छैन ।  

गम्छु, मन्त्रीले भनेजस्तो केही महिनाभित्रै सडकमा रेल कुद्न थाले भने के होला ? सडकमा रेल चल्न नभ्याउँदै मनमा रेल चल्न थालिसक्यो । दिमागमा रेलका रेखा कोरिन थालिसके । यसैपनि वर्षामा हिलो र चिप्लोले गाडी चलाउन मुस्किल पर्छ । त्यसमाथि यसपाली काठमाडौंमा मेलम्चीको भेल बग्ने भएको छ । मेलम्चीको भेल र छुकछुके रेल एकैपटक काठमाडौं पसे भने सडक अस्तव्यस्त हुन्छ । 

पहिलेदेखि नै सडक कब्जा गरेर बसेका गाडीलाई कहाँ लैजाने ? मेलम्चीको भेललाई कता तर्काउने ? लामो न लामो रेललाई कहाँ पार्किङ गर्ने ? उसै पनि तेल भर्न बेलाबेला पेट्रोलपम्पमा गाडीको लामो लाइन लाग्छ । त्यति लामा रेल आफैं तेल भर्न लाइन बसे भने के होला ? 

एउटा रेल पार्किङ गर्ने ठाउँ भेट्याउन त मुश्किल पर्छ । झन् यहीँ चल्ने मेट्रो र मोनोरेल अनि उत्तर र दक्षिणबाट आउने रेल एकैपटक काठमाडौंमा भेट भए भने त आपतै पर्छ । रेल र रेल जुध्न सक्छन् । रेलले गाडी पेल्न सक्छन् । गाडीको पो भनेको ठाउँमा ब्रेक लाग्छ । रेलको त भन्ने बित्तिकै ब्रेक लाग्दैन रे । 

सम्झेर, सुनेर आमाबाबु डराइसके । ‘ए रेल आउँदैछ रे बाटोमा खेल्न नजानु है’ भनेर छोराछोरीलाई सम्झाउन थालिसके ।

रेल चल्न नथाल्दै मनमा चिन्ता बढ्न थालेको छ । मोनोरेल चलाउने नेताहरुका मनो सपनाले मनचिन्ते रोग बढेको छ । थानकोटको थुम्कोजस्तै मनको टाकुरामा अर्को थुम्को थपिएको छ, मनचिन्ते थुम्को । मनचिन्ते थुम्कोमा रेलकै मात्र चिन्ता हुन थालेको छ । 

काठमाडौंमा कुद्ने लोकल रेल, अनि उत्तर र दक्षिणबाट आउने सुपर रेल मनचिन्ते थुम्कोमा जुधेको सपनाले तर्साउन थालेको छ । रेल नआउँदै रेलको डरले तर्साउन थालेको छ !

रेलका जानकारहरु एक किलोमिटर दोहोरो रेल मार्ग बनाउन कम्तिमा ५ अर्ब रुपैयाँ चाहिन्छ भनछन् । त्यसमाथि काठमाडौंको भूबनोट रेलमार्गका लागि त्यति उपयुक्त पनि छैन रे । एकातिर रेलमार्ग बनाउन चाहिने त्यतिका रकम कहाँबाट जुटाउने ? अनि रेल चलाउनै नमिल्ने भूबनोटमा कसरी रेलमार्ग बनाउने ? दुई चारवर्ष त के, अझै कयौं वर्ष रेल चल्ला भनेर पत्याउन मुस्किल छ । 

तैपनि प्रधानमन्त्री, मन्त्री र नेताहरु भन्छन् – नपत्याउनेलाई सित्तैमा रेल चलाउँछौं । सित्तैमा रेल ! क्या गजब प्रतिबध्दता । रेल भए त पैसा तिरेरै चढ्न हुन्थ्यो नि भन्छु । तर नभएको रेलमा पहिले पनि पैसा लाग्दैनथ्यो । त्यस्तो रेलमा अहिले पनि सित्तै चढेको छ, कुदेको छ ।  

नपत्याउनेलाई पनि पत्याउनै पर्नेगरी रेलका कुरा सुन्दा कानमा रेलको सिट्ठी लाग्न थालिसक्यो । सिठी धेरै बजेर होला, आजभोलि त कान दुखेर खपिनसक्नु भैसक्यो । धन्न अहिलेसम्म कानमात्रै दुखेको छ । अझै सिन्को नभाँचि रेलको कुरा गरिरहने हो भने दिमाग रन्कन्छ । त्यस्तो बेलाका लागि अबदेखि मानसिक अस्पतालको ढोका चौविसै घण्टा खुला राख्नु पर्ने भो ।

अवस्था यस्तो आउन लाग्यो, अब केही दिनपछि त्यो अस्पतालमा कि त मन्त्री र मेयरहरुलाई जाँच्नुपर्छ, कि त हामी जस्ता रेलका कुरा सुनेर कुनै पनि बेला बौलाहा हुने मनस्थितिमा पुग्न लागेका रेलमा यात्रुहरु त्यहाँ पुगेर बौलाहाको हाँसो हास्नुपर्छ !

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया