आयल निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाटै गरिन्छ : मन्त्री यादव

 जेठ २४, २०७५ बिहिबार १३:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गरिने बताउनु भएको छ । 

भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न आफूले चाहेको बताउनु भएको हो । बिहीबार खड्काले जिम्मेवारीविहीन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । 

मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिनु भयो । उहाँले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू पुगेको पनि स्पष्ट पार्नु भयो । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गर्नु भयो ।

मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले जनताको सेवा गरेर विगतमा गिरेको छवि माथि उठाउने काममा लागि पर्न पनि आयल निगम व्यवस्थापनलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया