मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल, छक्का पञ्जा ३ को टिमले गर्‍याे सार्वजनिक

 असोज २२, २०७५ सोमबार १२:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको छ । सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’सहितको टिमले सार्वजनिक गरेको हो ।

ग्याजेट फ्रेम डटकममा हाल विश्वबजारमा उपलब्ध सबैजसो मोबाइल ब्रान्ड र तिनका प्रडक्टको पूरा विवरण समावेश गरिएको जानकारी कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले दिए । ‘यी प्रडक्टबीच एक आपसमा तुलना गर्न मिल्ने, नेपालमा कति मूल्यमा उपलब्ध छन्, नजिकको कुन स्टोरमा पाइन्छ आदि जानकारी केही क्लिकको भरमै जानकारी प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

यतिमात्रै होइन ग्राहकहरुले ग्याजेट फ्रेममार्फत् आफूलाई कति मूल्यसम्मका र कस्ता विशेषता भएका मोबाइल आवश्यक परेको छ, सोहीअनूरुप फोन छान्ने सुविधासमेत पाउने छन् । साथै पछिल्ला प्रडक्टको रिभ्यु, स्मार्टफोन र यससम्बन्धी समाचार र ब्लग, अन्तवार्ता, ग्याजेट टिप्स आदि पोर्टलमा समावेश गरिएको छ ।

ग्याजेट फ्रेममा स्टोरहरुलाई आफ्नो युजर आइडी खोल्ने सुविधा दिइएको छ, जसमार्फत् उनीहरुले आफ्नो पसलमा पाइने सम्पूर्ण सामानलाई सूचीकृत गर्न सक्नेछन् । उपभोक्ताले कुन स्टोरमा के के प्रडक्ट उपलब्ध छन्, यसका फिचर र अफर के के छन्, मूल्य कति छ, प्रडक्टको रेटिङ कस्तो छ आदि जानकारी एउटै प्लाटफर्मबाट लिन सक्दछन् । आगामी दिनमा अन्य इलेक्ट्रोनिक प्रडक्टहरुको जानकारीसमेत ग्याजेट फ्रेममार्फत् उपलब्ध गराई सम्पूर्ण ग्याजेटहरुको कप्लिट सोलुसन गाइडको रुपमा ग्याजेट फ्रेमलाई स्थापित गर्ने योजना कम्पनीको रहेको छ ।

वेब पोर्टल सार्वजनिक गर्दै छक्का पञ्जा चलचित्रकी निर्देशकसमेत रहेकी दीपाश्रीले प्रविधिको बजार बढेसँगै उपभोक्ताले अनलाइनबाटै सामान रोज्न र सही सूचना प्रदान गर्न ग्याजेट फ्रेम सफल हुनेमा विश्वास लिईन् ।
‘अहिले मोबाइलबिना हाम्रो सास नै अगाडि बढ्दैन । फेसबुक, युट्यूब र गुगल सर्चबिना खाएकै पच्दैन । यसलाई यति सजिलो बनाएको मोबाइल प्रविधिले नै हो,’ उनले थपिन्, ‘मोबाइल कस्तो बोक्ने र ठगिनबाट कसरी बच्ने जस्ता कुराको जानकारी पोर्टलले दिए मोबाइल बजारसमेत व्यवस्थित हुने छ ।’

उनीसहित कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ले ग्याजेट फ्रेमको सफलताको शुभकामना दिनुका साथै आगामी २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र छक्कापञ्जा ३ हेर्न सम्पूर्ण दर्शकलााई आग्रह गरे ।

कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुना पाण्डे घिमिरे, टेक्सास कलेजका सिइओ भेषराज पोखरेल, आइसीटी एन्ड लेगल रिसर्चर हेमपाल श्रेष्ठ, एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीलगायतको समेत उपस्थिति रहेको थियो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया