इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा सशस्त्रको ‘बीओपी’ क्याम्प बस्ने

 असोज २२, २०७५ सोमबार १४:३१:२७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – सीमा सुरक्षाका लागि इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा सशस्त्रको बीओपी क्याम्प बस्ने भएको छ ।

सीमा क्षेत्रको सुरक्षा, अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले इलामका चार स्थानमा बोर्डर ‘अब्जरभेसन पोष्ट’ (बीओपी) राख्ने माग गरिएको थियो । चारमध्ये एक स्थानको मागलाई मन्त्रिपरिषद्को निणर्यबाट पारित गरिएसँगै बीओपी क्याम्प बस्ने भएको हो ।

इलामका छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बीओपी क्याम्पको माग गरिएको जिल्ला सुरक्षा समिति इलामले जनाएको छ । सरकारको नीति अनुरुप तत्काल इलामका ४ स्थानमध्ये पशुपतिनगरमा ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बीओपी) रहने छ । यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली बस्नेछन् । सुरक्षालाई थप मजबुद बनाउन अन्य स्थानमा पनि पुनः सुरक्षा संयन्त्र माग गरिने बताइएको छ  ।

सीमा क्षेत्र बोर्डर लाइनबाट ५ सय मिटरको दूरीमा पोष्ट राखेपछि सीमा सुरक्षा, शान्ति सुरक्षा, सीमा क्षेत्रमा हुने अतिक्रमण लगायतमा सुधार हुने नवनिर्मित प्रदेश नम्बर १ इलाम गणका सशस्त्र प्रहरी उपरीक्षक बिदुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘इलाममा सबै प्रस्तावित बीओपी निर्माण भएमा १३–१३ किलोमिटरको दरमा क्याम्प निर्माण हुनेछ ।’

पूर्वी पहाडी जिल्लाको सीमा सुरक्षालाई ध्यान दिँदै छिमेकी जिल्लाहरु पाँचथर र ताप्लेजुङ्गमा समेत पोष्ट स्थापना हुनेछन् । पाँचथरमा प्राङवुङ, चिवाभञ्ज्याङ र तोप्लेजुङको ओलाङचुङगोलामा पोष्ट स्थापना हुनेछन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया