निर्देशक विकास बहलमाथि कंगनाको आरोप, अनुराग कश्यपले पनि भने : जे गरे डरलाग्दो थियो

 असोज २२, २०७५ सोमबार १५:२१:४९ | एजेन्सी
unn.prixa.net

बलिउडमा मी टू अभियान अन्तरगत एकपछि अर्को गर्दै यौन शोषणका घटनाहरु सार्वजनिक भइरहेका छन् । बलिउडमा काम गर्ने क्रममा यौन शोषणमा परेका पीडितहरु ती घटनाहरुको पर्दाफास गरिरहेका छन् । 

पछिल्लो समय निर्देशक विकास बहलको नाम पनि विवादमा आएको छ । सन् २०१६ मा बनेको फिल्म ‘बम्बे भेलवेट’ को प्रमोसनको टुरका क्रममा फिल्म क्रूमा आवद्ध एक महिलाले आफूमाथि विकासले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । ती महिलाले फ्यान्टम फिल्म्सका संचालक अनुराग कश्यपसँग त्यस घटनाको विषयमा कुरा गरेकी थिइन् । तर त्यो घटनामाथि कुनै पनि कारबाही भएन । लामो समयसम्म यस घटनाको विषयमा चुप लागेर बसेका अनुराग कश्यपले यस विषयमा बोलेका छन् । 

अनुरागले मिडियासँग कुराकानीका क्रममा भनेका छन्, ‘जे भयो त्यो गलत थियो । हामीहरुले त्यसबेला यस घटनालाई सही ढंगले ह्याण्डल गर्न सकेनौँ । हामी पूर्ण रुपमा असफल भयौँ । यसमा म आफू स्वयम् बाहेक अरु कसैलाई आरोप लगाउन सक्दिनँ । तर अब म यस केसलाई सही ढंगले ह्याण्डल गर्ने प्रतिवद्धता गर्छु । मलाई ती महिलाप्रति पूर्ण रुपमा भरोसा छ । उनलाई म पूर्ण सहयोग गर्छु । विकास बहलले जे गरे त्यो निकै डरलाग्दो थियो । हामी सबै यस कुरालाई ठीक गर्न तर्फ लागेका छौँ । हामी यसमा जे जति गर्न सक्छौँ त्यो सब गर्नेछौँ ।’ 

अभिनेत्री कंगना रनावतले निर्देशक विकास बहलका साथ फिल्म ‘क्वीन’ मा काम गरेकी थिइन् । कंगनाले पनि विकास बहलका बारेमा बयान दिएकी छिन् । उनले भनेकी छिन्, ‘म ती पीडित महिलामाथि पूर्णरुपमा भरोसा गर्छु । जब हामी फिल्म ‘क्वीन’ को छायांकन गरिरहेका थियौँ । त्यसबेला विकास विवाहित थिए तर उनी हरेक दिन नयाँ पार्टनरका साथ शारीरिक सम्बन्ध राख्ने गरेको बताउने गर्थे । विकास हरेक रात पार्टी गर्थे र म त्यो पार्टीमा नगएको भन्दै मेरो मजाक उडाउँथे । विकास जति पटक भेट्थे एकदमै अप्ठ्यारो हुने गरी अँगालो हाल्थे ।’ 

कंगना अगाडि भन्छिन्,  ‘मलाई उनको व्यवहार देख्दा लाग्थ्यो केही त गडबड छ । अहिले विकास बहल र अनुराग कश्यपले सञ्चालन गदै आएको फ्यान्टम फिल्म्स बन्द भएपछि यस कुराको धेरै चर्चा भइरहेको छ । तर यो मुद्दा पहिले पनि उठेको थियो तर निकै सजिलो तरिकाले यस कुरालाई दबाइएको थियो । मैले पहिले पनि पीडितको पक्षमा बोलेकी थिएँ । त्यही बेला विकास मसँग हरियाणाकी गोल्ड मेडलिष्टको जीवनीमा बन्ने फिल्मको स्क्रिप्ट लिएर आएका थिए । तर मैले ती पीडितको पक्षमा बोलेपछि उनले मसँग कुराकानी गर्नै बन्द गरिदिएका थिए ।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया