यात्रु भन्छन् – टिकट पाउनै मुश्किल भो, सरकार र व्यवसायी भन्छन् – सबैले पाउँछन्

 असोज २२, २०७५ सोमबार १५:५३:५३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – पाल्पाकी अस्मिता भण्डारी बसको टिकट लिन तीन घण्टासम्म चर्को घाममा नयाँबसपार्कमा उभिनुभयो । तर उहाँको पालो आउँदाससम्म टिकट सकियो । 

‘घर जानको लागि २५ गतेको टिकट खोजेको थिएँ तर टिकट भर्खरै सकिएछ । नयाँ बस थपेपछि मात्र टिकट पाइन्छ भन्दैछन्’ निराश हुँदै अस्मिताले भन्नुभयो, ‘अघिल्लो वर्ष पनि दुःख पाएको थिएँ । योे साल पनि यस्तै हुने भयो ।’

यस्तै धनगढीका राजिव खड्काले पनि घर जाने टिकट पाउनुभएन । शनिबार बसपार्क पुग्दा ३१ गतेभन्दा अगाडिको अग्रिम टिकट बन्द भैसकेको थाहा पाएपछि उहाँ निराश हुनुभयो । 

‘२३ गते अफिसबाट छुट्टी मिल्छ, आजै जान मिलेन’ उहाँले भन्नुभयो, ‘अब १ गते गएर पनि के काम । सरकारले सिन्डिकेट हटाएको हो कि झन थपेको हो थाहा छैन ।’

नयाँ बसपार्कमा बिहान दुई बजेदेखि नै टिकट लिनेको घुईंचो सुरु हुन्छ । ढिलो लाइनमा लागे टिकट नपाइने भएपछि बिहानै लाइन सुरु हुने गरेको प्रहरी अस्थाई बिट बसपार्कका हवल्दार हर्क राईले बताउनुभयो ।

सबै गाडीलाई रुट खुला गरिने

यसपाली व्यवसायीले नयाँ बस नथपेकोले पनि टिकट पाउन केही समस्या भएको छ । तर यसको विकल्पको रुपमा असोज २४ गतेदेखि ३१ गतेसम्म गाडीलाई सबै रुट खुला गर्ने तयारी छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भन्नुभयो, ‘कोही पनि यात्रु टिकट नपाएर घर जानबाट बञ्चित नहुन् भनेर नै हामीले यो कुरा विभागमा उठाएका थियौं । यसरी रुट खुला गर्दा यात्रुको चाप हेरेर काठमाडौंमा चल्ने बस पनि बाहिर जान सक्नेछन् ।’

अहिले अग्रिम टिकट लिन छुटेका यात्रुहरुले त्यतिबेला टिकट पाउने उहाँको दावी छ । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले टिकट नपाएर कोही पनि घर जानबाट बञ्चित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२४ गतेदेखि क्यू फ्री भएको छ । असोज ३१ गतेसम्म क्यू फ्री हुनेछ । यात्रुहरुको चाप हेरेर गाडीहरु जहाँ पनि जान सक्नेछन् ।’ 

दसैँको लागि अहिलेसम्म ८५ हजार टिकट बुकिङ भइसकेको छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया