यसरी जन्मिएको थियो शिवहरिको थेगो, ‘मुखाँ हान्नु जस्तो’

 असोज २२, २०७५ सोमबार १८:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कुनै समय दर्शकले निकै रुचाएको हास्य टेलिचलचित्र हो जिरे खुर्सानी । जितु नेपाल र शिवहरि पौडेलले संयुक्त रुपमा निर्देशन गरेको यो हास्य टेलिचलचित्रले समसामहिक विषयमा हास्य व्यंग्य प्रस्तुत गरेर दर्शकको मन जितेको थियो ।

यस हास्य टेलिचलचित्रमा उठान गरिएका विषयबस्तुलाई त दर्शलले रुचाएका थिए नै त्यससँगै जिरे खुर्सानीका पात्रहरुले प्रयोग गर्ने थेगो पनि उत्तिकै चर्चित बनेका थिए । हास्य टेलिचलचित्रमा प्रयोग भएका थेगोहरु मध्येको एक हो, ‘मुखाँ हान्नु जस्तो’ ।

यो थेगोलाई जिरे खुर्सानीमा हास्य कलाकार शिवहरि पौडेलले प्रयोग गरेका थिए । जब उनले जिरे खुर्सानीमा यो थगोको प्रयोग गरे दर्शकले पनि उनको थेगोलाई अत्यन्तै रुचाए । विस्तारै उनको नाम हराउँदै गयो र दर्शकले उनलाई ‘मुखमा हान्नु जस्तो’ नामले नै चिन्न थाले । अहिले जिरे खुर्सानी बन्द भैसकेको छ । तर पनि धेरै दर्शकहरुले शिवहरिलाई ‘मुखमा हान्नु जस्तो’ नामले नै सम्बोधन गर्ने गर्छन् ।

यसरी जन्मिएको थियो ‘मुखाँ हान्नु जस्तो’ 

जिरे खुर्सानी भर्खर मात्र सुरु भएको थियो तर त्यस हास्य टेलिचलचित्रमा ‘मुखाँ हान्नु जस्तो’ थेगो प्रयोग भएको थिएन । शिवहरि एक नेताको भूमिकामा थिए ।  जिरे खुर्सानीको दोश्रो श्रृङ्खलामा नेता एक कार्यक्रमा पुग्छ । उसले आफ्नो पीएलाई त्यस कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरुलाई समेत बोलाउनु भनेको हुन्छ ।

तर उ सहभागी हुने कार्यक्रममा कोही पनि पत्रकार आउँदैनन् र उसले आफ्नो पीएलाई गाली गर्छ । र त्यही गालीको क्रममा अचानक ‘मुखाँ हान्नु जस्तो’ थेगोको प्रयोग हुन्छ । तर त्यो शिवहरि आफैलाई पनि ख्याल थिएन ।

त्यसपछि हुने अन्य केही श्रृङ्खलाहरुमा त्यो थेगो प्रयोगमा आएन । एक दिन शिवहरिलाई एक दर्शकले भेटे र जिरे खुर्सानीको नियमित दर्शक भएको बताए । शिवहरिलाई उनै दर्शकले तापाईँले तपाईँको थेगो भन्नै छाड्नु भयो नि भनेर सोधे । त्यो समय शिवहरि आफै थेगोका बारेमा अनविज्ञ थिए । ती दर्शकले नै उनलाई भने तपाईँले ‘मुखाँ हान्नु जस्तो’ थेगो प्रयोग गरेको साँच्चै राम्रो छ ।

दर्शकको त्यो प्रतिकृयापछि शिवहरिले त्यो थेगो सुने । उनलाई पनि प्रयोग गर्दा राम्रै हुन्छ भन्ने लाग्यो र उनले अन्य केही साथीभाइसँग पनि सल्लाह गरे र सबैबाट सकारात्मक टिप्पणी आएपछि  उनले ‘मुखाँ हान्नु जस्तो’ थेगोको प्रयोग गर्न थाले । अन्ततः त्यही थेगोका कारण उनी दर्शकमाझ निकै लोकप्रिय बन्न सफल भए ।

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया