मेयरकै हस्पिटलमा सिलबन्दी

 असोज २२, २०७५ सोमबार २०:४८:४९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तीब्र बनाएको छ ।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत खेमराज थापाको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको निजी अस्पतालमा सिलबन्दी गरेको छ ।

अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा रहेको चौदण्डीगढी हस्पिटल बन्द गरेको हो । हस्पिटलको इजाजत पत्र र अन्य आवश्यक कागजात फेला नपरेपछि बन्द गरेको अनुगमन टोलीका प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।

‘कुनै पनि सरकारी मापदण्ड पूरा गरेको भेटिएन,’ उहाँले भन्नुभयो, ‘कागजात पूरा गरेर नल्याएसम्मको लागि सिलबन्दी गरेका हौँ, मेयर साबले किन बन्द गरेको भन्दै प्रश्न गर्नुभएको छ ।’

आफ्नो हस्पिटलमा सिलबन्दी गरेपछि मेयर राईले अनुगमन टोलीका संयोजक थापासँग आक्रोश व्यक्त गर्नु भएको छ । उहाँले नगरपालिकालाई पूर्व जानकारी नदिई बजार अनुगमन टोलीले एक्कासी बजार अनुगमन गरेर हस्तक्षेप गरेको प्रतिक्रिया दिनुभयो । 

‘अस्पतालमा मेरो पनि थोरै शेयर छ, अस्पताल बन्द गरेपछि त्यहाँबाट फोन आएको थियो,’ उहाँले भने, ‘स्थानीय सरकारले पनि नगर उपप्रमुखको नेतृत्वमा बजार अनुगमन गरिरहेको छ । अस्पतालको कागजात पुर्‍याउन मैले अस्पताल सञ्चालन गरिरहेका भाइहरूलाई भनेको छु ।’

बेल्टार बजारमै रहेको शुभकामना पोलिक्लिनिक एण्ड डाइग्नोसि सेन्टर र सूर्योदय मोडल पोलिक्लिनिक प्रालिमा समेत सिलबन्दी गरेको अनुगमन टोलीले जानकारी दिएको छ । अनुगमन टोलीले अजय पाउरोटी उद्योग र सीताराम पानी उद्योगको समेत आवश्यक कागजपत्र नभएपछि सिलबन्दी गरेको छ ।

बेल्टार बजारमा विभिन्न म्याद गुज्रिएका विभिन्न प्रकारका उपभोग्य समान समेत जफत गरेको जानकारी अनुगमन टोलीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया