कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

 असोज २३, २०७५ मंगलबार १७:१८:६ | मुना हमाल
unn.prixa.net

कर्णाली प्रदेशसभा बैठकमा बाेल्दै कांग्रेसका सांसद

सुर्खेत – प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

झण्डै दुई महिनापछि मंगलबार बसेको कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल कांग्रेसले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै नेपाली कांंग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सभामुख राजबहादुर शाहीसँग समय मागेर बोल्नु भएको थियो ।

उहाँले सरकारले बजेट ल्याएको चार महिना भइसक्दा पनि रातो किताब नल्याएको, अति महत्वपूर्ण विधेयक नल्याएको, सरकारले विकास र सम्मृद्धितर्फ भन्दा पनि भाषण र उद्घाटन कार्यक्रममा सीमित भई गम्भीर नभएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो । उहाँले प्रदेश सांसदहरुको सरकारले सेवा–सुविधा सम्बन्धिको विधेयक अहिलेसम्म संसदमा पेश नगरेको बताउनुभयो ।  

उहाँले सरकार उद्घाटन र भाषणमै सीमित रहेर  सरकारलाई बिजनेश नदिएको र संसदलाई बन्धक बनाउन खोजेको आरोेप लगाउनुभयो । सरकारका कामकारबाहीका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद चन्लन नदिने चेतावनी दिनुभयो ।

‘हामी प्रतिपक्षको नाताले सरकारलाई सुरुदेखि प्रदेशको राजधानी र नामाकरण गर्दा पक्ष र विपक्ष नभनेर विकासका लागि एक भएर जानुपर्छ भनेर सजिलो रुपमा अघि बढ्छाँै भन्दै त्यही भूमिकामा अघि बढेका थियौँ । अझै पनि सरकारका राम्रा कामहरुमा  प्रदेशका नागरिकका उत्थानमा साथ दिन तयार छौं’, सांसद श्रेष्ठले भन्नुभयो, ‘तर अहिले सरकारले राम्रोसँग काम गर्न सकेन् । सरकार काममा भन्दा भाषणमा सीमित भयो । बजेट आएको चार महिना भइसक्दा पनि रातो किताब उपलब्ध गराउन सकेको छैन् । योजना कहाँ–कहाँ पुगे, हामीलाई केही जानकारी छैन् । यसको जवाफ  सरकारका तर्फबाट मुख्यमन्त्रीले नदिएसम्म हामी संसद चलन्न दिदैनौँ ।’

उहाँले सरकारले नागरिकको हकहितका लागि काम गर्छु भनेर अनुभूति दिलाउन नसकेको पनि बताउनुभयो । सरकारकै कारण जिल्ला र निर्वाचन क्षेत्रमा जान आफूहरुलाई समस्या भएको उहाँको भनाई छ । 

सभामुख शाहीले पटक पटक बस्न आग्रह गरे पनि प्रतिपक्षका सांसदले अवरोध गरिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । प्रतिपक्ष दलसँग सहमति जुट्न नसकेपछि संसद सचिवालयले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । मंगलबार सभा, नगरसभा सञ्चालन सम्बन्धी विधेयक पारित हुने कार्यसूची रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया