प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
लमजुङ –नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकार गिराउन विभिन्न देशी/विदेशी शक्तिकेन्द्रहरु लागिपरेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लमजुङको संयुक्त आयोजनामा दसैँतिहारको अवसरमा बेसीशहरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘मुलुकमा अस्थिरता, अराजकता पैदा गराई सरकार गिराउने दिशामा कतिपय देशी÷विदेशी शक्तिकेन्द्रहरु लागिरहेका छन् । उनीहरुले दुई तिहाई बहुमतको वामपन्थी सरकार चाहिरहेका छैनन् । वामपन्थीबीचको एकीकरण चाहिरहेका छैनन्’, उहाँले भन्नुभयो ।
मुलुकमा अशान्ति, अराजकता मच्चाउने, विभिन्न विकृति–विसंगति फैलाउने जस्ता समस्या मुलुकमा रहेको बताउँदै उहाँले चुनौती चिर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘देशमा रहेका चुनौती चिर्नका लागि सबै कर्मचारीले संयमता र धैर्यताका साथ आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु आवश्यक छ । देश र जनताप्रति उत्तरदायी भई काम गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अराजकता, अशान्ति, विविध विकृति–विसंगति जस्ता समस्या हटाउन सके मुलुकमा स्थिरता र स्थायित्व छाउँछ । मुलुकमा आर्थिक समृद्धिको बाटो पैदा हुन्छ । संविधान कार्यान्वयन हुन्छ । ‘मुलुकलाई सामाजिक, आर्थिक रुपान्तरण गर्दै अघि लैजान सकिन्छ’, उहाँले थप्नुभयो ।
मुलुकमा राजश्व गुणात्मक रुपले वृद्धि हुनुका साथै शान्ति–सुरक्षा लगायतका क्षेत्रमा सुधार हुने प्रकृया, प्रयास चलिरहेको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘विडम्बना, नेपालको अवस्था खुला सिमानाको अवस्था छ । तराईका सीमावर्ती क्षेत्रमा दिनहुँजसो घटना घटिरहेको छन् । खुला सिमाना छ । सबै कुरा नियन्त्रण गर्न सक्ने अवस्था पनि छैन । तैपनि अपराधी पत्ता लगाउन र आपराधिक घटना नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास भने गरिरहेको छ ।’
अर्को प्रसंगमा, प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका गुरुङले अर्थतन्त्रमा मुलुक आत्मनिर्भर नभएकै कारण विभिन्न जटिलता पैदा भएको बताउनुभयो । कृषि प्रधान मुलुक भनिए पनि कृषिजन्य उत्पादन, खाद्यान्नमा आत्मानिर्भर हुन नसकिएको उहाँले बताउनुभएको छ ।
‘वार्षिक एक खर्ब बढीको खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । अत्यावश्यक खाद्यान्न समेत विदेशबाट आयात गर्नुपर्दा हामीले स्वाभिमान ढंगले स्वतन्त्रतापूर्वक के निर्णय गर्न सक्छौँ ?,’ उहाँले भन्नुभयो, ‘अत्यावश्यक खाद्यान्नमा समेत विदेशी उत्पादनमा निर्भर हुनुपर्दा हामीलाई स्वाधीनतापूर्वक, स्वविवेकले स्वतन्त्र ढंगले निर्णय गर्न कठिन पर्दो रहेछ । त्यसैले सरकारले कृषि उत्पादनमा जोड दिनुपर्छ । यही मान्यतालाई केन्द्रबिन्दुमा राखी सरकार अघि बढिरहेको छ ।’
कार्यक्रमका सहभागीहरुले सबै कर्मचारीले देश र जनताको हितलाई ध्यानमा राखी जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।