विकास साझेदार संस्थाहरु कर्णालीमा लगानी गर्न प्रतिवद्ध

 असोज २३, २०७५ मंगलबार १८:५८:२७ | मुना हमाल
unn.prixa.net

विकास साझेदार संस्थाहरुका प्रतिनिधि र कर्णाली प्रदेश सरकारका प्रतिनिधिबीचकाे बैठक

सुर्खेत – कर्णाली प्रदेशमा विकास साझेदार संस्थाहरु लगानी गर्न प्रतिवद्ध भएका छन् ।

प्रदेश सरकार र बहुपक्षीय विकास साझेदारहरुको बैठकमा विकास साझेदारहरुले कर्णालीमा लगानी गर्न सकारात्मक रहेको बताएका हुन् । उनीहरुले तत्काल कर्णालीमा योजना तर्जुमा, सर्भेका लागि प्राविधिक र प्रविधिको सहयोग गर्ने सहमति जनाएका छन् । 

सरकारी प्रवक्ता एव्म भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बैठकका बारेमा जानकारी दिँदै विकास साझेदार संस्थाहरु कर्णालीमा विकास गर्न औपचारिक रुपमै प्रतिवद्ध भएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले बैठकमा यहाँको विकासको प्राथमिकता सडक, जलविधुत, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका क्षेत्रमा विकास साझेदारी संस्थाहरु लगानी गर्न सकारात्मक देखिएको मन्त्री केसीले बताउनुभयो ।

‘विकास सझेदारहरु कर्णाली प्रदेशमा लगानी भित्र्याउनका लागि सकारात्मक देखिएका छन् । उहाँहरुसँगको बैठक सकारात्मक र उपलब्धिमुलक भएको छ’, मन्त्री केसीले भन्नुभयो, ‘विकास साझेदारहरु तत्काल कर्णालीको योजना तर्जुमा गर्न, सर्भे गर्नका लागि प्राविधिक र प्रविधिको सहयोग गर्न औपचारिक रुपमा प्रस्तुत भएका छन् ।’ 

उहाँले अब कर्णाली प्रदेशको विकासका लागि केन्द्रीय सरकारले पहल गर्ने र प्रदेश सरकारले नेतृत्व गर्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले साझेदार संस्थाहरुसँग प्रदेश सरकारको तर्फबाट समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई सम्पर्क व्यक्ति ताकेको छ ।

मन्त्री ज्वालाले कर्णालीमा अब विज्ञ बैंक स्थापना गर्ने र प्रोजेक्ट बैंक तयार गरी विकास कार्यलाई अघि बढाउने बताउनुभयो । उहाँले जमुना हिल्सा सडक, प्रदेश स्तरिय विमानस्थललगायतका ठूला योजनाहरुलाई विकास साझेदारहरुसँग छलफल भएको बताउनुभयो ।  

‘हामीले विज्ञहरुको समूह पनि बनाइसकेका छौँ । अब प्रोजेक्ट वैंक तयार गरी विकासका कार्यलाई अघि बढाउँछाैं’, उहाँले भन्नुभयो, ‘हामीले प्रदेशमा ठूूला परियोजनाहरुमा विकास साझेदार संस्थाहरुलाई लगानी गर्न वातावरण सृजना गछौँ । केन्द्र सरकारसँग समन्वय गछौँ ।’

कर्णाली प्रदेश सरकारले विकास साझेदार संस्थाहरु यूरोपियन यूनियन, युएनडीपी, विश्व बैंक,  डीएफआईडीसँग छलफल गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया