राष्ट्रिय महिला भलिबल गलकोटमा सुरु: विभागीय टिमलाई सुरुवाती सफलता

 असोज २३, २०७५ मंगलबार १९:१२:४ | दिल शिरीष
unn.prixa.net

राष्ट्रिय महिला भलिबल प्रतिस्पर्धाकाे उद्घाटन गरिँदै

बागलुङ – बागलुङको पश्चिम गलकोटमा २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

नेपाल भलिबल संघको आयोजना, गलकोट नगरपालिकाको विशेष सहयोग र जिल्ला भलिबल संघ बागलुङको स्थानीय व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा तीन विभागीय टोलीले नै शुरुवाती सफलता हासिल गरेका छन् । 

मंगलबारको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश ६ लाई पराजित गरेको छ । सशस्त्रले प्रदेश ६ लाई १२—२५, १२—२५ र ६—२५ अकं सहित ३—० को सोझो सेटमा पराजित गरेको जिल्ला भलिबल सघंका अध्यक्ष याम श्रीसले बताउनुभयो ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ५ लाई हराएको छ । पुलिसले ११—२५, १७—२५ र १३—२५ अंकका साथ लगातर तीन सेट आफ्नो पक्षमा पारेको हो । 

निकै प्रतिस्पर्धात्मक रहेको तेस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित हासिल गरेको छ । 

प्रतियोगितामा ६ प्रदेश र ३ विभागीय टिम गरि ९ टिम सहभागी छन् ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, प्रदेश २, ३, ५,६ र कर्णाली प्रदेश प्रतियोगिताका लागि गलकोट आएका छन् । १० समूहले सहभागिता जनाउने बताइए पनि अन्तिम समयमा प्रदेश नम्बर १ ले सहभागिता जनाएन । 

राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

असोज २७ गते सकिने प्रतियोगिताबाट नेपालमा हुने १३ औं साग खेलकुदका लागि खेलाडी छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा प्रतियोगिता समन्वय समितिका संयोजक याम गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगिताको  विजेता, उपविजेता र तृतिय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

अन्य पाँच विधातर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सटर र उत्कृष्ट ब्लकरलाई पनि नगद ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । 


 
 

अन्तिम अपडेट: चैत १४, २०८०

दिल शिरीष

बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया