डीभी भर्दा के–के कुरामा ध्यान दिने ? अमेरिकी राजदूतावासका कन्सुलर माइकल ई म्युसीसँगको कुराकानी

 असोज २३, २०७५ मंगलबार २०:३८:१७ | अच्युत घिमिरे
unn.prixa.net

अक्टोबर ३ देखि खुलेको अमेरिकी डीभी  आवदेन यो वर्षको नोभेम्बर ६ सम्म भर्न सकिन्छ ।

यसै विषयमा कुराकानी गर्नका लागि उज्यालो रेडियो नेटवर्कको स्टुडियोमा हामीले संयुक्त राज्य अमेरिकी राजदूतावास, महाराजगञ्जमा कार्यरत कन्सुल माइकल ई म्युसीसँग उज्यालो फल्चाका लागि कुराकानी गरेका छौँ । राम्रो नेपाली बोल्नुहुने म्युसीसँग उज्यालो सहकर्मी अच्युत घिमिरेले डीभी भिसा आवेदनसँगै उहाँले नेपाली बोल्न सिकेकोबारे पनि कुराकानी गर्नुभएको छ । उज्यालो फल्चाको लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ 

स्वागत छ तपाईँलाई ।

तपाईले निम्त्याउनु भएकोमा तपाईलाई धेरै धन्यवाद छ ।

कति मिठो नेपाली बोल्नुहुन्छ । कति समय लाग्यो यस्तो नेपाली बोल्ने बन्नलाई ?

हुन त धेरै समय लाग्यो । म पहिला आउँदाखेरी ३० वर्ष अगाडि केही पनि बोल्दैनथे । तैपनि बिस्तारै सिक्दै गए अनि अहिले यहाँसम्म आएको छु ।

औपचारिक रुपमै भाषा पढ्नुभयो कि यत्तिकै बोल्दाबोल्दै सिक्नुभयो ?

हामीले पहिला आउँदाखेरी पिसकोरसँग काम गर्दा हाम्रो तीन महिनाको भाषा सिक्ने तालिम थियो । अनि त्यसपछाडि हामी गाउँमा गएर बस्दाबस्दै हामीले सिकेम् । यहाँ आउनुभन्दा अगाडि यसपालि हाम्रो परराष्ट्र मन्त्रालय बसेर हाम्रो औपचारिक तालिम पनि थियो । त्यहाँबाट पनि थप सिकेँ । 

तपाईंलाई हेरिरहँदा पनि नेपाली जस्तै लाग्यो भनेर कसैले भन्नुहुन्छ कि ?

(हाँस्दै) तुरुन्त हेर्नासाथ मान्छेहरुले नेपाली हैन जस्तो देखिन्छ भन्छन् तर सुन्दाखेरि कहिलेकाहीँ नेपाली हो कि भनेर सोध्छन् । अनि मलाई धेरै खुशी लाग्छ, जे होस् सुन्दाखेरि ।

अब हामी सन्दर्भमा आउँछौ । विशेष आज डाइभर्सिटी भिसाबारे हामी कुराकानी गर्छौं । सबभन्दा शुरुमा त यो डीभी भनेको के हो ? यतैबाट कुरा सुरु गरौं ।

हजुर, यो डिभी भनेको डाइभर्सिटी भिसा अनि त्यो वास्तवमा हाम्रो देशमा अलि बढी विविधता बढाउने उद्देश्यले हाम्रो संसदले बीस वर्ष भन्दा अलि बढी अगाडि नयाँ कानुन पारित गरेर यो कार्यक्रम शुरु गर्यो । अनि त्यसबेलादेखि संसारका धेरै देशहरुबाट मानिसहरु फाराम दर्ता गरेर अमेरिका गइरहेका छन् । तर वास्तवमा उद्देश्य चाहिँ हाम्रो देशको विविधता बढाउनका लागि हो ।

अमेरिका जानका लागि यो डीभी कति देशका नागरिकले भर्ने गरेका छन् ?

मेरो विचारमा संसारका सबै देशबाट भर्न मिल्छ । बीस वटा जतिबाहेक जुनदेशबाट धेरै जना  अमेरिका गइसकेका छन् । तर २० वटा जतिबाहेक सबै देशको  मानिसहरु योग्य हुन सक्छन् । 

सबैतिर एकैपटक खुला गरिन्छ कि ? कुनै देशलाई एक पटक र अर्को देशलाई अर्को पटक गरिन्छ ? 

एकैचोटि सबै देशलाई खुला हुन्छ  । वास्तवमा अक्टोबर ३ तारिखबाट खुला भयो । एक महिनाभन्दा अलि बढी, पाँच हप्ता जति यो दर्ता गर्ने म्याद खुला हुन्छ त्यसपछाडि सिद्धिन्छ । अनि त्यसपछि आवेदन पेस गर्न मिल्दैन । 

भनेपछि अक्टोबर ३ देखि सुुरु भएको छ, नोभेम्बर ६ सम्म डाइभर्सिटी भिसा नेपालमा बस्ने नेपालीहरुले यदि अमेरिका जान इच्छुक हुनुुहुन्छ र  भर्न चाहनुहुन्छ भने भर्न सक्नुहुन्छ ? 

अँ, सक्नुहुन्छ । 

डीभी भर्ने प्रक्रिया कस्तो हुन्छ ? 

वास्तवमा यो सबै प्रक्रिया अनलाइनबाट हुन्छ । अनि धेरै सरल पनि हुन्छ । निःशुल्क पनि हुन्छ । एउटा महत्वपूर्ण कुरा यसका लागि दर्ता गर्न केही पैसा पनि लाग्दैन । हाम्रो वेबसाइट dvlottery.state.gov मा गएर जसले पनि दर्ता गर्न सक्नुहुन्छ । त्यहाँ गएर आफ्नो व्यक्तिगत विवरण, अलि–अलि जानकारी त्यसमा भर्नुपर्छ त्यसपछाडि हालसालै खिचेको फोटो पेस गर्नुपर्छ अनि त्यसको माथि यदि तपाईँ विवाहित हुनुभयो भने तपाइँको श्रीमान अर्थात श्रीमतीको जानकारी पनि भर्नुपर्छ ।

अनि यदि छोराछोरी छन् भने सबै जना अविवाहित र २१ वर्ष नपुगेका छोराछोरीको जानकारी पनि भर्नैपर्छ भन्ने हाम्रो एउटा आवश्यकता छ । यदि कसैले विवाहित भएर अथवा छोराछोरी भएर ती व्यक्तिहरूको जानकारी पेस गर्नुभएन भने तपाईँको आफ्नो आवेदन अयोग्य हुनसक्छ । 

नेपालबाट डीभी भर्दा यो ठाउँबाट भर्यो भने निश्चित रुपमा पर्छ भन्ने खालका साइनबोर्डहरू कतिपय ठाउँहरुमा राख्ने गर्छन् ।  यो वर्ष चाहिँ त्यस्ता साइनबोर्ड धेरै देखिएको छैन । यस्तो खालको सियोर लाग्ने बनाउन सक्ने गरी कसैले बनाउन सक्छ  र ?

अँ, वास्तवमा हाम्रो तर्फबाट हरेक आवेदकले आफ्नो तर्फबाट भर्दा राम्रो हुन्छ भन्ने हाम्रो प्रोत्साहन छ । तर कसैको आफ्नो कम्प्युटरको पहुँच छैन भने पहिला साथीसँग सल्लाह गरेर अथवा नातेदारसँग सल्लाह गरेर गर्न राम्रो हुन्छ । मैले अघि नै भनकोेजस्तै यो  धेरै सजिलो प्रक्रिया हो अनि निःशुल्क पनि हो । तर यदि कुनै पसलमा गएर गर्नुभयो भने उनीहरुले पैसा लिन्छन् होला । 

एउटा कुरा के भने, सबै जानकारी भरेर यो आवेदन पेस गरेपछि एउटा कन्फरमेसन पेज आउँछ । त्यो कन्फरमेसन पेजमा एउटा विशेष कन्फरमेसन नम्बर  पनि हुन्छ । त्यो  तपाईँको एउटा व्यक्तिगत नम्बर  हो ।  त्यो  नम्बर तपाईँलाई काम लाग्छ भविष्यमा । त्यसकारण त्यो नम्बर आएर प्रिन्ट गरेर  सुरक्षित ठाउँमा राख्दा वेश हुन्छ । यदि तपाईँ अर्को अफिसमा जानुभयो भने त्यो कम्फरमेसन नम्बर छुट्ने सम्भावना अलि बढी हुन्छ । भविष्यमा तपाईँलाई अप्ठेरो पर्न सक्छ । त्यसैले यो कुरामा अलि सचेत रहनुहोला । अब सियोर लाग्ने भन्ने चाहिँ कसैले भरेर पनि सियोर लाग्ने भन्ने हुन्न । प्रक्रिया पुर्याएर जसले भरे पनि प्रोसेस एउटै हो ।

भनेपछि प्राप्त हुने कन्फरमेसन नम्बर नहराइकन सुरक्षितसँग राख्नुपर्‍यो ? 

हजुर, हजुर ।

डाइभर्सिटी भिसा आवेदन भरिसकेपछि छनोट हुने प्रक्रियाहरू कस्ता हुन्छन् ?

यो वर्षको नोभेम्बर ६ सम्म भर्ने समय रहन्छ  । त्यो अवधि सकिएर ६ महिनापछि मे ७ तारिखदेखि छानिनुभयो कि भएन भन्ने कुरा थाहा हुन सक्छ । मैले अघि नै भनेको त्यो कन्फरमेसन नम्बर महत्वपूर्ण छ । त्यसबेलादेखि मे ७ तारिखपछि  त्यही वेबसाइटमा गएर सेलेक्टी (छानिएको व्यक्ति) मा थिच्दा अर्को पेज आउँछ । त्यो आफ्नो व्यक्तिगत कन्फर्मेसन नम्बर पेस गरेर  थाहा पाउन सक्नुहुन्छ छानिनुभएको छ कि  भए छैन भनेर ।

यदि छानिनुभयो भने अर्को जानकारी आउँछ । एउटा नयाँ पेज आउँछ । त्यसमा सबै निर्देशिका लेखिएको हुन्छ अब के के गर्नुपर्छ  । क्रमशः त्यो हरेक स्टेप गरेर  एप्लिकेशन नयाँ अलि लामो किसिमको एप्लिेकेशन भर्न सक्नुहुन्छ । 

यसो गर्दा वर्षभरिमा कति मान्छे छनोट हुन्छन् ?

वर्षभरि जम्मै संसारभरिबाट ५० हजार जनासम्म छानिएका हुन्छन् । तर कुनै एउटा देशबाट त्यो ५० हजारको सात प्रतिशत भन्दा बढी हुँदैनन् त्यसकारण एउटा देशबाट ३५०० जना भन्दा बढी हुँदैन । अनि वास्तवमा नेपाल चाहिँ एउटा भाग्ममानी देश होे ।

किनभने झण्डै हरेक वर्ष ३५०० जनासम्म छानिएका हुन्छन् । गएको वर्ष सेप्टेम्बरको मसान्तसम्म हाम्रो दूतावासले ३ हजार ३ सय जना जति अनि नेपालमा बस्ने मात्रै हैन अरु देशमा बस्ने नेपालीहरु पनि छानिन सक्छन् । हरेक वर्ष खाडी मुलकबाट, मलेसियाबाट, जापानबाट,  कोरियाबाट, अस्ट्रेलियाबाट  नेपालीहरु त्यहाँ बस्ने गरी डीभी भर्न सक्नुहुन्छ र छानिनु पनि हुन्छ । अमेरिकामा बसेर पढिरहेका विद्यार्थीले पनि डीभी भर्न सक्छन् ।

यो भरिसकेर अमेरिका जाने नेपालीहरु अथवा अरु देशबाट डीभी परेर जाने नेपालीलाई फेरि अमेरिकी नागरिक बनाउनको लागि प्रोसेसिङहरु केही हुन्छ ? 

अमेरिका जानासाथ यदि तपाईं डीभी भिसाको लागि योग्य हुनुभयो भने अमेरिका पस्नासाथ हाम्रो कानुनी स्थायी हैसियत पाइन्छ । अनि त्यो हैसियत पाएर स्वतन्त्रता पनि पाउनुहुन्छ । मतलब जुन ठाउँमा गएर बस्दा पनि हुन्छ, जुन ठाउँमा गएर पढ्दा पनि हुन्छ, जुन ठाउँमा गएर काम गर्दा पनि हुन्छ । जुन ठाउँमा गएर आफ्नो व्यवसाय बनाउन पनि सक्नुहुन्छ । त्यो अधिकार पाउनुहुन्छ त्यहाँ पुगेपछि । 

विभिन्न ठाउँबाट मान्छेहरु आउँछन् । कति वर्ष सङ्गत गरेको मान्छेको आनीबानी पनि थाहा हुँदैन । फरक खालका फरक परिवेशका मान्छेहरु आएर बसिसकेपछि डीभी परेर आएकाहरुबाट कतिपय ठाउँमा चुनौतीहरु, अप्ठ्याराहरु पनि देखा पर्छन् होला नि । त्यो अनुभव गर्नुभएको छ ?

अहिलेसम्म डीभी परेर अमेरिका जानेहरुले ग्रीनकार्ड पाएपछि उहाँहरुले बिस्तारै त्यहाँको वातावरणसँग घुलमिल गरिसकेको सूचना छ । आफूलाई गाह्रो भयो, बस्न सक्दिन भनेर फर्किएर आएको चाहिँ एक दुई प्रतिशत पनि छन् होला तर त्यस्तो अत्याधिक संख्यामा चाहिँ दुःख पाएर फर्केको भन्ने सुन्नमा आएको छैन । 

यो बीस वर्षको बीचमा डीभी आवेदन भर्दाका अवस्थाहरु शुरुवाती दिनहरुमा र अहिले केही फरक पनि छन् कि ?

मेरो विचारमा पछिल्लो समयमा डीभीका लागि दर्ता गर्ने आवेदकहरु चाहिँ अलि बढी शिक्षित नै छन् । माथिल्लो स्तरको शैक्षिक योग्यतासम्म लिएका छन् खाली त्यो फरक मैले देखेको छु । तर प्रायः काम गर्ने, पढ्ने मौका खोजिरहेकाहरुले भर्छन् । त्यस्तो धेरै फरक खासै छैन ।

कति पढेको हुनुपर्छ डीभी भर्नको लागि ? केही नीति नियम छ त्यस्तो ? 

हजुर धेरै राम्रो प्रश्न हो । वास्तवमा न्यूनतम योग्यता प्लस टुसम्म पास गरिसकेको प्रमाण हुनुपर्छ । तर त्यस बाहेक अर्को कुनै शैक्षिक योग्यता छैन । प्रश्न आउँछ यदि बढी पढेको छु भने मेरो छानिने चान्सेस पनि बढी हुन्छ कि ? त्यस्तो कुनै पनि चान्स छैन खाली न्यूनतम शैक्षिक योग्यता हेर्छौं । त्यसबाहेक अर्को केही पनि हेरिँदैन ।

बाह्र कक्षा पास नभएको मान्छेले चाहिँ भर्दै नभरे हुन्छ कि भर्न सकिन्छ ?

सकिन्छ, तर अन्तरवार्ता गर्ने बेलासम्म नतिजा आइसकेको हुनुपर्छ । यदि नतिजा आएको छैन भने अप्ठेरो पर्न सक्छ । अनि तपाईँको आफ्नो पैसा खेर जान पनि सक्छ । त्यसकारणले हाम्रो सुझाव छ । जसले प्लस टुसम्म पास गरिसकेको छैन, आवेदन नभर्नुहोला ।

यो चाहिँ बाह्र कक्षा पढ्ने अर्को प्राविधिक शिक्षाको पनि सन्दर्भ छ यहाँ । तपाईँलाई थाहा होला । प्राविधिक शिक्षा पढ्नेहरु पनि नेपालमा धेरै युवा छन् यो धारबाट जान पाइन्छ ? बाह कक्षा नपढ्ने तर प्राविधिक शिक्षा पढ्नेहरुले ?

प्राविधिक शिक्षा दुई किसिमको छ नेपालमा । एउटा चाहिँ तीन वर्षे कोर्ष छ । जसले गर्दा तीन वर्षे कोर्स सकेपछि त्यसभन्दा उच्च शिक्षा हासिल गर्नको लागि अरु देशहरुमा पनि अनुकूल मिल्छ । तर कोहीकोही चाहिँ व्यावसायिक शिक्षा नि छ नि, ६ महिने १६ महिने यिनीहरुलाई चाहिँ हामीले प्लस टु बराबर मान्यता दिँदैनौँ । तीन वर्षको कोर्ष भोकेसनल ट्रेनिङ, भोकेसनल कोर्सहरुलाई चाहिँ मान्यता दिइन्छ । 

उमेर समूहको कुरा गर्दा चाहिँ कुन उमेर समूहको मान्छेले डीभी भर्न पाउँछन् ? 

वास्तवमा कुनै विशेष मापदण्ड छैन । जसले पनि भर्न सक्नुहुन्छ । प्रायः १२ कक्षा पास गर्ने १७, १८ वर्ष उमेर समूहकाले बढी भरेको देखिन्छ । तर ६०–७० वर्ष पुगेका आवेदक पनि देखेका छौँ । त्यसकारण कुनै विशेष मापदण्ड छैन ।

६०-७० वर्ष लागेका आवेदकहरूलाई पनि डीभी लागेको रेकर्ड छ नि ? 

हजुर, छ ।

धेरै धेरै धन्यवाद सजिलो गरी बुझाइदिनु भयो । अब केही व्यक्तिगत कुराकानी पनि गरौं । तपाईं जन्मे हुर्केको स्थान र यता नेपालको परिवेश हेर्दा कस्तो पाउनुहुन्छ ? 

मेरो हुर्काइबाट नेपालको सन्दर्भ धेरै फरक छ  । म जन्मेको ठाउँ एरिजोना हो । यो एकदमै मरुभूमि जस्तो धेरै सुख्खा ठाउँ । नेपालको प्राकृतिक सौन्दर्य हेर्दा असाध्यै राम्रो लाग्छ । त्यसैले पनि यो पटक फेरि नेपाल आउँदा मलाई सारै खुशी लागेको छ । 

पहिलो पटक नेपाल आउँदाको कुन कुरा चाहिँ तपाईँको स्मरणमा बसिरहेको छ ? सम्झनुहुन्छ ? 

सन् १९८८ सेप्टेम्बर महिनामा पहिलो पटक नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको जस्तो बनेको थिएन । त्यहाँ गौचरण थियो । नेपाल आएको दिन हामी त्यहाँबाट हाम्रो अफिससम्म जाँदा बाटोमा जनावरहरु डुलिरहेका थिए । खाना हातले खान आउँदैन थियो । खाना खान सिक्नुपर्‍यो ।

त्यसबेलासम्म हातले भात खाएको मेरो अनुभव थिएन । हामी सबै नयाँ थियौं, सबै सिक्नुपर्‍यो अनि त्यसपछि हाम्रो तीन महिनाको भाषा सिक्ने तालिम थियो अनि हामी आ आफ्नो ठाउँमा आआफ्नो काम गर्ने ठाउँमा गयौँ अनि  म जुम्ला जानको लागि छानिएको थिएँ । सिंजा भेगको नगरकोट भन्ने गाउँमा एक वर्ष त्यहाँको माध्यामिक विद्यालयमा पढाएँ । अनि त्यसपछाडि जुम्ला सदरमुकाममा सरेर दुई वर्ष त्यहाँको विज्ञान शिक्षा इकाइमा त्यहाँको शिक्षकहरूलाई तालिम दिन्थें ।

कति रमाइलो अनुभूति रैछ तपाईँसँग हामीले पनि थाहा नपाएको त्यति बेलाको कुरा गर्नुभयो । त्यतिबेला सिंजा जाँदाखेरिका कुरा गर्नुभयो । हातले भात खान सिक्दै गरेको कुराहरू गर्नुभयो । अब यतिका वर्ष वितेर तपार्इँ फेरि नेपालमा कन्सुलका रूपमा बस्दा त्यति बेलाको नेपालको राजधानीलाई लिउँ न हामी । त्यतिबेलाकोे राजधानी र अहिलेको काठमाडौँको कुन–कुन कुरा राम्रो लाग्छ कुन–कुन नराम्रो ? 

अब मेरो आफ्नो स्मरणमा चाहिँ त्यतिबेलाको मान्छेको जनसंख्या कम थियो । अँ, राजधानी पनि निकै हरियाली थियो । धेरै  फराकिलो पनि थियो । यति भवन थिएनन् । त्यतिबेला गाडीहरूको संख्या पनि धेरै कम थियो । हामी प्रायःजसो साइकल चढेर यताउता जान्थ्यौं खुब रमाइलो थियो  त्यतिखेर । अहिले पनि नराम्रो नै त केही छैन । अलि सुविधाहरु थपिएका छन् । अँ, बिजुली पनि लगातार पाइन्छ । त्यसकारण कुनै फाइदा त्यतिबेला पनि थियो भने कुनै फाइदा यो समयमा पनि छ । 

नेपाली गीतहरू पनि खुब सुन्नुभयो होला है ?

अँ, केही केही सुनेको छु । त्यो ‘रेशम फिरीरी’ नसुनेको  कोही छैन होला । त्यो भइहाल्यो । अर्को एउटा गीत ‘चलेछ बतास सुस्तरी’ भन्ने गीत मलाई खूब राम्रो लाग्छ ।

अहिले मैले गाउनुस् न भनेँ भने त अप्ठेरो हुन्छ होला है ? 

(हाँस्दै) हो नि, अप्ठेरो हुन्छ ।

नेपाली गीत संगीत सँगसँगै नेपाली चलचित्रहरू हेर्नुभएको होला नि ? 

मैले हेरेको छु तर नाम भने मलाई याद छैन । कुनै–कुनै हेरेको छु । अनि मेरो विचारमा आजभोलिको जृुन चलचित्र बनिरहेका छन् । यसको गुणस्तर राम्रो आइरहेको छ । 

तपाईँ उता अमेरिकामा बस्दा नेपालसम्बन्धी समाचार त पढिरहनुहुन्छ होला ? रुचि लाग्छ नि ?

रुचि लाग्छ पहिलादेखि नै नेपालको माया लागेको छ । त्यसकारणले नेपालको स्थिति, राजनीति, प्रकृति कस्तो बदलिएको छ भन्ने मलाई चासो छ । यति शुद्ध बोल्ने मान्छेले पत्रिकाहरु अथवा नेपाली लिपि चाहिँ बुझ्नु हुन्छ कि बुझ्नुहुन्न भन्ने मलाई चासो लाग्यो फेरि । पढ्न त सक्छु अलिअलि, बिस्तारै पढ्छु तर ...

लेख्न नि ?

लेख्न पनि अलिअलि लेख्छु कहिलेकाहीँ तर कम मात्र हुन्छ ...काम गर्दाखेरी अब त्यतिखेर इमेल पनि थिएन, फोन पनि थिएन  । अनि हामीले चिठी लेखेर पठाउनुपर्‍यो । कहिलेकाहीँ मैले  नेपाली लिपिमा  चिठी लेखेर काठमाडौँमा बस्ने साथीलाई पठाएको थिएँ । 

बडो मिठो गरी बताउनुभयो । तपाईँको यो नेपालप्रतिको प्रेमका लागि हार्दिक आभार व्यक्त गर्छाैँ हामी । माइकलजी रमाइलो पनि लाग्यो । एउटा प्रश्न अझै डीभीबारे नै सोध्छु है ? एकपटक अमेरिकाको अन्य भिसा लागिसकेको मान्छेलाई डीभी पर्ने सम्भावना धेरै हुन्छ ?

हुँदैन, हाम्रो एउटा ठूलो डाटाबेस कम्युटर छ । केन्टकी भन्ने एउटा राज्य छ । त्यहाँ रहेको डीभी केन्द्र अथवा केसीसी भन्ने केन्द्र छ । त्यसले रेन्डम किसिमले मान्छेहरुका आवेदनलाई छान्छ । शैक्षिक योग्यता बढी भएकोमा फरक नभए जस्तै अमेरिका बस्नेहरुलाई पनि त्यही कुरा लागू हुन्छ । तर अर्को एउटा कुरा छ दुईपटक फर्म भर्न कोसिस नगर्नुहोला । किनभने त्यो कम्प्युटरले आवेदनलाई राम्रोसँग चिन्ने क्षमता राख्दछ ।

त्यसकारणले तपार्इँले यदि दुवै आवेदन भरेर त्यसको दुईवटा फोटो, त्यो फोटो फरक भयो भने पनि त्यो कम्युटरले चिन्न सक्छ । यस कारणले एउटा मात्र आवेदन पेस गर्न पाइन्छ । यसमा मैले स्पष्ट गर्न खोजेको के हो भने डीभी भरेपछि कुनै कुरा थप गर्न मन लाग्यो फेरि भोलि गएर थप्छु भन्ने अवस्था हुँदैन । त्यसो गर्दा दुवै फाराम रद्द हुन्छ । 

धेरै-धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो । 

हस् । धन्यवाद ।

अन्तिम अपडेट: मंसिर २७, २०७५

अच्युत घिमिरे

घिमिरे उज्यालाे रेडियाे नेटवर्कका कार्यक्रम संयाेजक हुनुहुन्छ ।

5 Comments

  • अर्जुन भट्टराई

    Oct. 12, 2018, 11:49 a.m.

    छनोट प्रक्रिया चाही कस्तो हुन्छ भनेर सोध्नु भएको आभारी हुने थिए !

  • Laxman Pariyar

    Oct. 10, 2018, 6:52 p.m.

    I want to go America Because of I want to stay there and actually I like there's peach

  • Purnakala subedi

    Oct. 10, 2018, 11:31 a.m.

    I want to go america.

  • Sanjeet gurung

    Oct. 10, 2018, 11:24 a.m.

    Helloo i got few questions ok how about spouse dv form like both husband and wife can submit seperately dv form or only one person should fill including with all their eligibility reqiurements please im confused seperate form or only one form thanks

  • Mamta kumari Mahato

    Oct. 9, 2018, 9:53 p.m.

    I am married with one son and studying in bachelor.

तपाईको प्रतिक्रिया