नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

 जेठ २४, २०७५ बिहिबार १५:४:३८ | रासस

काठमाडौं –  निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको  प्रमाणपत्र प्रदान गरेको छ । 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गर्नुभएको हो । 

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले नागरिकबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिनुभयो । 

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भन्नुभयो, ‘महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागित हुन्छ ।’ 

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित हुनुहुन्थ्यो 

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया सुरु गरेको थियो ।


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया