दोलखामा तीन वर्षमा १० केजीभन्दा बढी सालकको खपटा बरामद

 असोज २४, २०७५ बुधबार ६:४६:४८ | उषा तामाङ
unn.prixa.net

दोलखा – तीन वर्षको अवधिमा १० किलोग्रामभन्दा बढी संरक्षित वन्यजन्तु सालकको खपटा दोलखा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार २०७१ सालदेखि अहिलेसम्म १० केजी ८ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार बरामद गरेको हो । 

गएको सोमबार मात्र सदरमुकाम चरिकोटबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली कमलामाई नगरपालिका वडा नं. ३ घर भएका २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोलेलाई २ केजी ९ सय ग्राम सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुले सिन्धुलीको आफ्नै गाउँबाट बिक्री वितरण गर्ने उद्धेश्यका साथ सालकको खपटा दोलखा ल्याएका थिए । 

बिक्री वितरणको लागी लैजादै गर्दा भीमेश्वर नगरपालिका वडा नं. ३ स्थित लामाचौर जंगलमा उनीहरु सालकको खपटासहित फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । पक्राउ परेका अर्जुन देवकोटा र सौरभ गोलेलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दोलखा पठाइएको छ । 

यस अघि २०७१ साल कात्तिक १३ गते भीमेश्वर नगरपालिका वडा नम्बर ७ तामाकोशीबाट ४ केजी, २०७४ चैत्र २० गते शैलुङ गाउँपालिका वडा नम्बर ८ बाट २ केजी, २०७५ साउन २५ गते भीमेश्वर नगरपालिका वडा नम्बर ७ बाट ३ सय ८० ग्राम सालकको खपटा बरामद गरिएको थियो । 

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ वर्षदेखि १५ वषसम्म कैद र ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । 

पछिल्लो समय दोलखामा सालकको खपटाको तस्करी बढेसँगै जिल्ला प्रहरी कार्यालय दोलखाले विशेष निगरानी बढाएको छ । निगरानी सुरु भए सँगै तस्करीमा संलग्नलाई पक्राउ गर्ने क्रम बढेकोे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया