नयाँ मोटरसाइकल दर्ताको टुंगो छैन, व्यवसायी भन्छन् : दसैंको बेला सरकारले डुबायो

 असोज २४, २०७५ बुधबार १०:३१:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – बागमती अञ्चलमा दुईपांग्रे सवारी साधनको दर्ता रोकिएको ७ दिन वितिसक्दा पनि समस्या समाधान भएको छैन । यातायात व्यवस्था नियमावली २०५४ ले दुईपांग्रे सवारीको समूह अर्थात दुइ अंक ९९ सम्म मात्रै हुने व्यवस्था गरेको छ । बागमती अञ्चलमा दुईपांग्रे सवारीको दर्ता बा ९९ प ९९ ९९ सम्म पुगेपछि दर्ता रोकिएको हो । 

यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची ६ मा  माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको अञ्चल संकेत अक्षर र त्यसपछि सवारी समूह जनाउन अंक लेखिनु पर्ने र यस्तो सवारी समूह जनाउने अंक आवश्यकता अनुसार १ देखि ९९ सम्म हुने व्यवस्था छ । यस्तो अंकपछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नु पर्नेछ भन्ने उल्लेख गरिएको छ ।

यातायात व्यवस्था विभागले तत्कालको लागि  समूहलाई ३ अंक पुर्‍याएर भए पनि दर्ता रोक्न नहुने भन्दै नियमावली संशोधन गर्नका लागि मन्त्रालयमार्फत मन्त्रीपरिषद्लाई आग्रह गरेको थियो । तर गएको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकमा यो नियमावली संशोधनको एजेन्डा नै पेश हुन पाएन । 

दुई अंकको समूह सकिएको र ३ अंकमा दर्ता गर्न कानुनी समस्या देखिएकाले अहिले बागमती अञ्चलमा मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको छ ।

संशोधन नभए नयाँ नियमावली बनाउनुपर्ने

यदि २०५४ सालको यातायात व्यवस्था ऐन संशोधन नगर्ने हो भने अर्को नियमावली बनाउनुपर्नेछ । नियमावली बनाउन अध्ययन गर्नुपर्ने हुन्छ र त्यसको लागि समय लाग्छ । 

‘नागरिकलाई समस्या पर्ने विषयमा प्रधानमन्त्री सिरियस नै हुनुहुन्छ, सकभर नियमावली संशोधन हुने सम्भावना छ, यदि संशोधन भएन भने नयाँ बनाउन त समय लाग्ने नै देखिन्छ’ यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले उज्यालो अनलाइनसँग भन्नुभयो । 

गएको आइतबार धेरै एजेन्डा भएकाले मन्त्रीपरिषद्को बैठकमा पेश नभएको नियमावली संशोधनको एजेन्डा पर्सि बिहीबारको बैठकमा पेश हुने सम्भावना छ । 

व्यवसायी भन्छन् : दसैंको बेला सरकारले डुबायो

गाडी व्यवसायीले अरुबेला भन्दा दसैँमा गाडी र मोटरसाइकल धेरै बेच्दै आएका छन् । दसैँमा व्यवसायीले छुट र उपहार योजना पनि ल्याउने तथा ग्राहकले पनि बोनससहितको तलब पाउने भएकाले गाडीको कारोबार उच्च हुने गर्छ । तर यो वर्ष दसैंको मुखैमा लट नै सकिएर यातायात व्यवस्था कार्यालय बागमतीले नयाँ दुईपांग्रे दर्ता नगर्दा व्यसायीले मोटरसाइकल र स्कुटर बेच्न पाएका छैनन्  ।

दर्ता नहुँदा ५ हजार दुईपांग्रे गाडी भन्सार तिरेर बाटोमै रोकिएका र ३५ सय दुईपांग्रे गाडी दर्ता प्रक्रियामै अल्झिएका व्यवसायीले जनाएका छन् । 

‘दसैँमा हाम्रो कारोबार रोकेर राज्यले डुबाएको छ, भन्सार तिरेर, सारा शुल्क तिरेर पनि हामीले गाडी बेच्न नपाउने कस्तो नियम हो यो ?’ नेपाल अटोमोवाइल्स डिलर्स एसोसियन नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सरकारले तुरुन्तै नियमावली संशोधन या नयाँ नियमावली बनाएर यो समस्या समाधान गरिदिनुपर्छ, हामी मारमा परेका छौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गम्भीर लापर्वाही 

देशमा संघीय संविधान जारी भएको ३ वर्ष पुगिसकेको छ । संघीय संविधान जारी भएपछि अञ्चलमा आधारित संरचना र नीति नियम खारेज हुन्छन भन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई थाहा नहुने त कुरै भएन ।

दुईपांग्रेको बढ्दो कारोबारले पोहोर नै आउँदो वर्षमा बाग्मती अञ्चलमा दुईपांग्रेलाई ९९ लटले धान्दैन भन्ने अनुमान गर्न गाह्रो थिएन । तर मन्त्रालयले संविधान जारी भएको ३ वर्षमा न त ऐन संशोधनको लागि पहल गर्यो, न त संघीय ढाँचाअनुसारको नियमावली नै बनायो । 

यातायात व्यवस्था विभागलाई मन्त्रालयले ताकेता गरेको भए यातायात व्यवस्था नियमावली २०५४ संशोधन हुन्थ्यो या नयाँ नियमावली बनिसक्थ्यो । तर दुईपांग्रेको लट ९९ सय पुगेपछि बल्ल तात्तिएको मन्त्रालयका कारण व्यपारीले बेच्न पाएका छैनन् भने दसैँमा छुट र बिभिन्न उपहार योजनासहित मोटरसाइकल र स्कुटर किन्ने ग्राहकको इच्छा पनि अधुरो भएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया