नारायणी अस्पतालमा डाइटिसियन नियुक्त, बिरामी लाभान्वित

 असोज २४, २०७५ बुधबार १३:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालले डाइटिसियन (पोषणविज्ञ) नियुक्त गरेसँगै बिरामीहरु लाभान्वित भएका छन् । 

अस्पतालमा डाइटिसियन अनिवार्य हो । तर विगतमा डाइटिसियन नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रोग अनुसार के खाना खाने, कसरी खाने भन्ने बारेमा आवश्यक सुझाव दिन असहज भएको थियो ।  

बिरामीको स्वास्थ्यलाई सहज पार्न सन्तुलित आहार महत्वपूर्ण रहने भएकाले अस्पतालले डाइटिसियन नियुक्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इमामुल हकले जानकारी दिनुभयो । 

अस्पतालले निशा सिंहलाई एक महिनाअघि डाइटिसियनमा नियुक्त गरेको हो । वर्षाैंदेखि यो पद खाली रहेकाले अहिले बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै डाइटिसियन नियुक्त गरिएको मेसु हकले बताउनुभयो । 

सिंहले भिमराव अम्बेडकर विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुभएको छ । उहाँले दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सेवा समेत गर्नुभएको थियो ।  

डाइटिसियन निशा सिंह

औषधि सेवनले भन्दा सन्तुलित भोजनले मानिसको स्वास्थ्य सबल बनाउने डाइटिसियन सिंह बताउनुहुन्छ । अस्पतालमा उपचारका लागि आउनेमध्ये विशेषगरी मिर्गौलाको डाइलायसिस गरिरहेका बिरामी, मुटु तथा महुमेहका रोगीहरु, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिला बढी लाभान्वित भएको उहाँले बताउनुभयो । 

अहिले सिंहको दैनिकी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाना कसरी खाने, कुन समयमा कुन खाना खाने, कति परिमाणमा खाना खाने भनेर सुझाव दिँदैमा बित्ने गरेको छ । 

बिरामीहरु पनि आफूले दिएको सल्लाह बमोजिम सन्तुलित आहार सेवन गर्न लागेको र यसले नियमित रुपमा डाइलायसिस गर्न आउने बिरामीमा सकारात्मक प्रभावसमेत देखिएको बताउनुभयो । 

सन्तुलित भोजनको बारेमा जानकारी नहुँदा मान्छेहरु जथाभावी खाना खाने गर्छन । जथाभावी रुपमा खाने खानाले मानव स्वास्थ्यमा नराम्रो असर पार्छ । स्वस्थ र तन्दुरुस्त हुन सन्तुलित खाना सबैले खानुपर्ने सिंहले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया