एक हजारको चामल गाउँ पुग्दा चार हजार !

 असोज २४, २०७५ बुधबार १४:१३:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ –उत्तरी धादिङको लापा, झर्लाङ, रि, सेर्तुङ र तिप्लिङवासी यातायातको जोखिमपूर्ण र महंगो सेवा उपभोग गर्न बाध्य छन् ।

सडक सञ्जाल नपुगेको र खच्चडबाट सामान ढवानी गर्नु पर्ने भिर पहराको छेउमा भएका बस्तीहरुका मानिस सदरमुकाममा सामान्य उपचार सेवा लिन जाँदा कम्तिमा एक साता लाग्ने गर्छ । बोकेर लानु पर्ने अवस्था आएमा बिरामीहरु गाउँमै अलपत्र पर्ने र साहुहरुले मात्र हेलिकप्टरमा चार्टर गरेर अस्पताल लैजानुपर्ने अवस्था छ । यस्तो जोखिमपूर्ण यात्रा गर्दा उत्तरी धादिङका मानिसहरुको जीवन नै जोखिममा रहेको लापाका निरबहादुर तामाङको भनाइ छ ।

 

सदरमुकामबाट साविकको दार्खा गाविससम्म सवारी साधन ‘गाडी’ पुगेको भए पनि वर्षका बेला सदरमुकामबाट अवरुद्ध भएको बाटो दसैँका बेलामा समेत डुण्डुरे खोलासम्म पनि कच्ची सडक सञ्चालनमा आउन सकेको छैन । किन्ताङफेदीबाट खच्चडमा सामान ढुवानी गरेर लापा पुर्याउँदा एक बोरा एक हजार मूल्य पर्ने चामलको कम्तिमा ३ हजार ५ सय रुपैयाँसम्म पर्छ । विद्यालय बनाउन वा स्वास्थ्य चौकी बनाउन सिमेन्ट आवश्यक हुन्छ ।

सिमेन्ट बोकेर भवन बनाउन सदरमुकामको तुलनामा चार गुणाले महंगो पर्ने भएपछि गाउँमा मानिसहरु सामान्य जीविका मात्र धानेर बस्न बाध्य भएको लापा निवासी रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष धिरज तामाङले बताउनुभयो ।

लापा, झर्लाङ, रि, सेर्तुङ र तिप्लिङका विद्यालयहरु युएमएनको साझेदारीमा नमस्ते ग्रामिण विकास समाज र हिम्स नेपाल नामक गैरसरकारी संस्थाहरुले निर्माण गरिरहेका छन् । भूकम्पले क्षति पुर्याएका विद्यालय निर्माणमा ढुवानी समस्याका कारण समयमै निर्माण नसकेको र लागत मूल्य अत्यन्तै चर्को भएको हिम्स नेपालका अध्यक्ष जिवन तामाङले बताउनुभयो ।

खच्चडमा रड बोक्न कठिन हुने भएपछि रडलाई भाँचेर सानो पारेरमात्र बोकाउनु पर्ने हुन्छ । सिमेन्टको तुलनामा रड ढुवानी २० प्रतिशतले महंगो पर्ने गरेको छ । 
जोखिमका बस्ती भएर पनि गाउँमै बसोबास गरिरहेका नागरिकहरु दसैँको मुखमा हिँडेर ठूलो भारी बोकेर घरतिर जाँदै गरेको र दसैँ खर्च जुटाउन बजारतर्फ मानिसहरु भारी बोकेर पसिना निकालेको दृश्य टिठ लाग्दो देखिन्छ ।

पञ्चायतकालदेखि केही समयअघिसम्म लामो समय राज्यसत्ताको मूख्य पदमा सेर्तुङका बुद्धिमान तामाङ बसे तर गाउँमा सडक, बत्ती, स्वास्थ्य, शिक्षाका लागि पहल नगरेको गाउँबासीको आरोप छ । यस्तै आरोप लागाएर प्रदेशसभा र संघीयसभाको चुनावमा समेत यस क्षेत्रका नागरिकले पहिले सत्तामा बसेर पनि विकास नगरेकाहरुको विरुद्धमा भोट हालेको सेर्तुङ निवासी रामसिंह तामाङले बताउनुभयो ।

अहिले धादिङबेसी तिप्लिङ सडक ट्रयाक खोल्ने काम भइरहेको छ । यो सडक १२ महिना चल्ने भयो भने गाउँमा आर्थिक विकास हुने आशा गाउँवासीको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया