काठमाडौं ७ बाट वामदेवलाई हराउन सक्ने उम्मेदवार उठाउँछौँ : विवेकशील साझा

 असोज २४, २०७५ बुधबार १७:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विवेकशील साझा पार्टीले एक वर्ष पनि नपुग्दै जनादेश पाएकै सांसदलाई राजीनामा दिन लगाएर पराजित व्यक्तिलाई सांसद बनाउन खोज्नुले राम्रो सन्देश नगएको बताएको छ । 

एक वर्ष पनि नपुग्दै जनादेश पाएकै सांसदले छाड्न पर्ने अवस्था आउनु राम्रो नरहेको भन्दै उसले यसले पार्टीकै लागि पनि राम्रो नहुने बताएको छ । 

विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले उज्यालोसँग कुरा गर्दै सैद्धान्तिक राजनीतिक रुपमा वा कानुनी रुपमा कसैले राजीनामा दिनु र उपचुनावमार्फत कसैलाई ल्याउन पाइने भए पनि पहिलेको चुनावबाट परास्त भएका व्यक्तिलाई नै फेरि ल्याउन खोज्नुले राजनीतिक व्यवस्थाप्रति नागरिकमा वितृष्णा बढ्ने बताउनुभयो । 

काठमाडौं क्षेत्र नम्बर ७ का  नेकपाका सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि भन्दै राजीनामा दिइसकेको भए पनि अझैसम्म स्वीकृत भइनसकेको छैन । क्षेत्र नम्बर ७ मा उपचुनाव नै हुने भए विवेकशील साझाले सशक्त उम्मेद्वार छनौट गरेर उठाउने प्रवक्ता आचार्यले जानकारी दिनुभयो । 

‘अहिले वामदेवका लागि त्यो क्षेत्र खाली गराइएको चर्चा छ’, प्रवक्ता आचार्यले भन्नुभयो, ‘तर हामी जित्ने गरी योग्य र सशक्त उम्मेदवार उठाउछौँ ।’ 

नेकपाले वामदेवलाई उठाउने भए उहाँलाई पराजित गर्ने रणनीतिका साथ चुनावमा होमिने उहाँले बताउनुभयो । हाम्रो आफ्नो उम्मेद्वारको लागि समर्थन जुटाउन सबै विकल्प खुल्ला राखेर चुनावमा सबैसँग हातेमालो गर्दै जित निकाल्ने योजना हामी हुने छौँ । 

परम्परागत राजनीतिक थितिलाई सुधार्नु आवश्यक रहेको उहाँले बताउनुभयो । रामवीर मानन्धरले राजीनामा दिने चर्चा चलेसँगै काठमाडौं ७ बाट विवेकशील साझाको उम्मेदवारको रुपमा संयोजक रवीन्द्र मिश्रको नामसमेत चर्चामा छ । यसअघि काठमाडौं ७ बाटै उम्मेदवार बन्नुभएकी अनुपा श्रेष्ठलाई नै विवेकशीलले दोहोर्‍याउन सक्ने समेत चर्चा छ ।

त्यस्तै कांग्रेसबाट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र धनराज गुरुङको समेत चर्चा छ ।
 
 

अन्तिम अपडेट: चैत २९, २०८०

2 Comments

  • jiblal bhusal

    Oct. 11, 2018, 2:20 p.m.

    जनतामा ब्याप्त बितिष्णाको अवस्थामा रिवन्द्र मिश्र चुनावि प्रतिस्पर्धमा अाए बामदेव गौतमलाई चौनौति हुन सक्छ ।

  •  0 Reply
  • भरत पौडेल

    Oct. 11, 2018, 6:38 a.m.

    बामदेवलाई हराउन सक्ने उमेदवार भन्दा पनि जनताले आफुले जितेको अनुभुत गराउन सक्ने उमेदवार उठाउनु पर्ने खाचो छ।फेल भैसकेका लाई मौका परीक्षा नहोस् ।देशकै जय होस

  •  0 Reply

तपाईको प्रतिक्रिया