केरुङ जान रसुवाबाहिरका नागरिकलाई पनि एक दिने प्रवेश पास उपलब्ध गराइने

 असोज २४, २०७५ बुधबार १९:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीन सरकारले व्यापारिक कारोवारका लागि एक दिने प्रवेश पास उपलब्ध गराउने भएको छ । 

यसअघि रसुवागढी नाका हुँदै चीनको केरुङ जानका लागि रसुवाबासीले मात्रै पास पाउँदै आएकोमा बाहिरी जिल्लाका नागरिकलाई समेत पास उपलब्ध गराउन लागिएको हो ।

२०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट रसुवाबासी बाहेक अन्य नागरिक केरुङ जान पाएका छैनन् । 

बाहिरी जिल्लाका व्यापारी, व्यवसायी र सवारी चालक जान नपाउँदा समस्या आएका कारण लामो समयदेखि छलफल हुँदै आएको थियो । एक दिने पासका लागि चिनियाँ पक्षले ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । 

रसुवाका सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच चीनको केरुङमा बुधबार बसेको सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले प्रक्रिया अघि बढेको जानकारी गराएका हुन् । 

बैठकमा वान डे पास, चेलिबेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया