जनकपुर आइपुग्यो ५३ डब्बासहितको रेल

 असोज २४, २०७५ बुधबार १९:५२:४१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – गएको पाँचवर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुगेको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म निर्माण सम्पन्न हुन लागेको ३५ किलो मिटर रेल्वे लिक परीक्षणको क्रममा रेल्वे पुरानो स्टेशन जनकपुर आइपुगेको हो ।

यससँगै रेल्वेको २९ किलो मिटर लिक परीक्षण भएको छ भने अब मात्र ६ किलो मिटर लिक परीक्षण बाँकी रहेको छ । अबको १० दिनभित्र ६ किलो मिटर लिक परीक्षण गरेर रेल्वे कुर्था स्टेशन पुगेपछि लिक परीक्षण्को काम सम्पन्न हुने नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।

लिक परीक्षको क्रममा एकसाता अघि रेल्वे जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी प्रवेश गरेको थियो । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने कालो गिट्टी) सहित रेल जनकपुर आइपुगेको छ । ५३ र्याक(डब्बा)सहित रेल जनकपुर आइपुगेको हो ।

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालबाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न हुने लागेको ब्रोडगेज रेल्वे निर्माणधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ र्याकसहितको रेल्वे जनकपुर आएको हो ।

कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्र्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निरीक्षण गर्दे काममा तीव्रता दिन निर्देशन दिएका थिए ।

सन् २०१८ को अन्तिमसम्ममा जसरी पनि रेल्वे सञ्चालन गर्ने तयारी छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Krishna Giri

    Oct. 10, 2018, 8:50 p.m.

    नेपालमा रेल आउनु भनेको सबै नेपालिको खुसिको कुरा हो अनि यस्तैनै गरेर नेपाल को हरेक ठाउँ मा रेल गुडेको हेर्न पाए अझै राम्रो हुन्थ्यो आशा गरौ यो पनि छिटै पुरा हुने छ|

  •  0 Reply

तपाईको प्रतिक्रिया