गाउँपालिकाको कामलाई पारदर्शी बनाउन सबै वडामा सीसी क्यामेरा

 असोज २५, २०७५ बिहिबार १०:५२:१७ | सन्ताेष रुचाल

धनकुटा – सेवा प्रवाहलाई चुस्तदुरुस्त र पारदर्शी बनाउने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकाका सबै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको छ ।

गाउँपालिका कार्यालयमा रहेर वडा कार्यालयहरुले सम्पादन गर्दै आएका सेवा प्रवाहलाई सीसी क्यामेरामार्फत अनुगमन सकिने छ । सूचना र प्रविधिलाई अधिकतम प्रयोग गर्दै जनताले पाउँदै आएका सेवा प्रवाहलाई छिटोछरितो बनाउनको लागि चौबिसे गाउँपालिका अन्तर्गत रहेका आठवटै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो ‘आफ्नो कोठामा नै बसेर कुन वडा कार्यालयले जनताको काम कसरी कार्यसम्पादन गर्दै छन् भन्ने कुरा अनुगमन गर्न र सल्लाह सुझाव तत्काल दिन सकिन्छ ।’ गएको वर्षदेखि नै यो सेवा संचालन गर्ने लक्ष्य राखिएको भए पनि यस वर्षदेखि मात्र सेवा संचालनमा ल्याउन सफल भएको चौबिसे गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

यस वर्षको असोज महिनादेखि गाउँपालिकाको ८ वटै वडाहरुमा सीसी क्यामेरा जडान गरी सुरु गरिएको यो सेवा पहिलो चरणमा सबै वडाका राजश्व शाखा जडान गरिएको छ । विशेष गरेर राजश्व शाखामा आर्थिक कारोबार हुने भएकाले सेवा प्रवाहलाई चुस्तदुरुस्त र पारदर्शी बनाउनको लागि पहिलो चरणमा राजश्व शाखामा सीसी क्यामेरा जडान गरिएको चौविसे गाउँपालिकाका योजना तथा प्रशासन प्रमुख लिलाबहादुर कार्कीले बताए । सीसी क्यामेरा जडान गरिएसँगै वडा कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाले नेट मार्फत इन्टरकम टेलिफोन सेवा पनि संचालन गरेको छ । 
    
इन्टरनेटमार्फत एक वडाले अर्को वडामा वा गाउँपालिकामा फोनमा कुरा गर्नु पर्दा पैसा लाग्दैन । नेटको पैसा तिरे पुग्छ । यो गाउँपालिकाले यो आर्थिक वर्षको सुरुदेखि नै अनलाईन विधिद्धारा रसिदहरु काट्दै आएको थियो । जसले गर्दा सेवा प्रवाह प्रभावकारी हुनुको साथै पारदर्शी पनि बन्दै गएको प्रशासन प्रमुख कार्कीले बताउनुभयो । चौबिसे गाउँपालिकालाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाका १, २, ६ र ७ नं. वडाबाट व्यक्तिगत घटना दर्ता पनि अनलाइनमार्फत सुरु गरिएको छ । अब चाँडै नै गाउँपालिकाका सबै वडाहरुबाट यो सेवा सुरु गरिने प्रशासन प्रमुख कार्कीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया