भै‌ंसी बेचेर दसैं मनाउने तयारीमा कर्मचारी

 असोज २५, २०७५ बिहिबार १४:३६:३७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला प्राविधिक कार्यालय रामेछापका कर्मचारी कृष्ण प्रसाद पौडेल र उनका साथी श्याम पौडेलले यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तरखरमा छन् । 

लामो समयदेखि कार्यालयले तलब पनि खुवाउन नसकेपछि उनीहरुले दूध खानको आफ्नो गोठमा लागि पालेको भैंसी बिक्रि गर्ने निष्कर्षमा पुगेका हुन् । 

कार्यालय प्रमुखसहित ६ जनाको दरबन्दी रहेको प्राविधिक कार्यालयमा ४ जना सरुवा भएर गएकाले अहिले त्यस कार्यालयमा कार्यालय प्रमुख र २ जना कर्मचारीमात्र रहेका छन् । 

तीनजनामध्ये २ जना कर्मचारीले भने गत साउनदेखि नै तलब खान नपाएकोले दशैको मुखमा आएर आफुहरुलाई समस्या परेको वताए ।

दसैंमा लाग्ने खर्च र सामानको मूल्यवृद्धि लगायतका कारणले दसैं मान्नका लागि आफूले भैंसी बेच्नका लागि ग्राहक बोलाइसकेको पनि कृष्ण पौडेलले बताउनुभयो ।

तर त्यस कार्यालयका कार्यालय प्रमुख कृष्ण लाल पिया आफूले भने तलब खाइसकेका छन् । जिल्लाको प्राविधिक कार्यालय मात्र होइन डिभिजन खानेपानी कार्यालय र डिभिजन सिंचाई कार्यालय लगायतका कर्मचारीहरुले पनि अहिलेसम्म तलब खान नपाएको गुनासो गरेका छन् । 

उनीहरुले पनि गएकाे साउन महिनादेखि नै तलब खान नपाएको बताएका छन् । 

डिभिजन खानेपानी कार्यालयका प्राविधिक महेन्द्र प्रधानले पनि आफूहरु अन्यायमा परेको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘दशैको मुखमा आएर कार्यालयले हामीलाई तलब खान नदिएर दसैं मान्नकै लागि पनि समस्या पारेको छ ।’ 

संघियता लागू भएसँगै सरकारले कार्यालय र कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय कार्यालयका कर्मचारीहरुलाई दसैंको मुखमा आएर तलब खान र दरबन्दी मिलानमा समेत समस्या परेको सरोकारवालाहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया