वैदेशिक रोजगारीले लियो दाजुभाइको ज्यान, सम्हालिँदै परिवार

 असोज २५, २०७५ बिहिबार १५:४६:१७ | मोहन पौडेल

काठमाडौं – नवलपरासीको डण्डा चोकबाट थोरै दक्षिण गएपछि पुगिन्छ रमा अर्यालको घर । दुईतले पक्की घर । रमाको घरसँगै उहाँका देवर र जेठाजुका घरहरु पनि जोडिएका छन् । रमाका श्रीमानसँगै देवर जेठाजुले पनि पक्की घर बनाएको वैदेशिक रोजगारीको कमाइले नै हो । 

अर्याल परिवारलाई वैदेशिक रोजगारीले जति दिएको छ, त्योभन्दा धेरै खोसेको छ । रमा अर्यालको घर पुग्दा यही लाग्छ । 

भिडियाे हेर्नुहाेस्

रमाका श्रीमान् मीनप्रसादका ६ जना दाजुभाइ । जग्गा जमिन थियो । तर गरिखाने मेलो थिएन उतिबेला । त्यसैले बिहे गरेको डेढ वर्षमै श्रीमतीलाई छोडेर उहाँ विदेशिनुभयो । यो २०६१ साल जेठ ११ गतेको कुरा हो । साउदी गएका मीनप्रसादले अमेरिकी व्यवस्थापनमा रहेको हर्फी कम्पनीमा काम पाउनुभयो । 

परदेशको काम सजिलो थिएन, तर कमाई चाहिँ राम्रै थियो । त्यसैले मीनप्रसादले एक दुई वर्ष मात्रै होइन, वर्षौं बितेको पत्तै पाउनुभएन । दुई÷दुई वर्षमा बिदामा घर आउनुहुन्थ्यो अनि केही नयाँ योजना बनाएर फेरि त्यही मरुभूमी पुग्नुहुन्थ्यो पसिना बगाउन । 

मीनप्रसाद मात्रै होइन, उहाँका अरु ४ जना दाजुभाइ पनि खाडीकै देश हानिएका थिए । ३ जना दाजुभाइ साउदीमै जम्मा भएका थिए । त्यतिबेला मीनप्रसादसँगै हुनुुहुन्थ्यो, साइँलो दाइ युवराज । केही वर्ष साउदी बसेर घर आएका युवराज कतार जानुभयो । 

घर आउने जाने क्रम चलिरहेकै थियो । यो २०७० मंसिरको कुरा हो । युवराज र मीनप्रसादका कान्छा भाइ दिपक साउदीबाट बिदामा घर आउनुभयो । त्योभन्दा अघिल्लो बिदामा आउँदा बिहे गरेर फर्किएका दिपक त्योपटक दुई महिनाको बिदा सकेर साउदी फर्किन काठमाडौं आउनुभयो । 

अर्को दिनको टिकट भएकाले त्यो रात गौशालाको होटलमा बसेका दिपकको बिहान ८ बजेको फ्लाइट थियो । उहाँ उड्न नपाउँदै बेपत्ता हुनुहुनुभयो । दिपक बेपत्ता भएको खबर घरसँगै विदेशमा पनि एकै चोटी पुग्यो । 

दाजुहरुले विदेशबाट सोधीखोजी गरे । परिवारले प्रशासन गुहार्‍यो । एक दिन, दुई दिन हुँदै १० दिनसम्म पत्ता लागेन । ११ दिनको दिन दिपक सास हैन, लास भेटियो नारायणीको किनारमा । 

भाइको मृत्युले परेको चोट 

दिपकको मृत्युले परिवार पीडामा थियो । त्यो पीडा विदेशमा भएका दाइहरुलाई पनि पर्‍यो । मीनप्रसाद झन् बढी तनावमा पर्नुभयो । 

भाइको घटनाको खबरलगत्तै कतारमा भएका युवराज घर फर्किनुभयो । मीनप्रसादले नै उहाँलाई फोन गर्नुभएको थियो । ‘के भयो यस्तो भनेको भनेकै थियो, मैले जे भयो अब नआत्तियौ भनेर सम्झाएँ’ युवराज सुनाउनुहुन्छ । 

बिदा लिएर फर्किएका युवराजसहित परिवारले महिनौ दिनसम्म भाइको हत्याको कारण खोजिरह्यो, तर पत्ता लाग्न सकेन । युवराज दुई महिनाको बिदा सकिएपछि कतार नै फर्किनुभयो । कतार पुगेका युवराजलाई मीनप्रसादले कान्छा भाइको हत्या कसले गरेको रहेछ अनि कारण के रहेछ भनेर बारम्बार सोध्न थाल्नुभयो । 

युवराजले केही पत्तो लगाउन नसकेको बताएपछि मीनप्रसाद झनै तनावमा पर्नुभयो ।

‘त्यही कुरालाई उसले ठूलो मानेर सोच्न थालेको छ भन्ने कुरा उसको कुरा गराइबाट थाहाहुन्थ्यो’ युवराज भन्नुहुन्छ । एक दिन मीनप्रसादले युवराजलाई नेपाल जाँदा पनि हामी सुरक्षित रहेनछौं भाइलाई मार्नेले हामीलाई पनि कहाँ छोड्ला र भन्नुभयो । 

मीनप्रसादका कुरा ठिक थिए । तर तनाव धेरै भइरहेको कुरा व्यवहारबाट थाहा हुन्थ्यो । युवराज अर्को देशमा भएपनि उहाँलाई सम्झाइ रहनुहुन्थ्यो । तर मीनप्रसादको व्यवहार फेरिएन । भाइको हत्या भएको झण्डै अढाई वर्षपछि मीनप्रसादले आत्महत्या गर्नुभयो ।

चिन्ता लिइरहे पनि मीनप्रसादले जीवनदेखि नै हार्नुहोला भनेर न दाइहरुले सोचेका थिए ,न त परिवारका अरु कसैले नै । 

एकपछि अर्को सोच्दै नसोचका घटनाले अरु दाजुभाइ सोच्न बाध्य भए । ‘परिवारमा यस्तै भइरहने हो भने त हामी त सकिने भयौं भन्ने लाग्यो’ युवराज भन्नुहुन्छ । परिवार सम्हाल्नकै लागि युवराज परदेशको बसाइ सधैंका लागि टुङ्ग्याउँदै घर फर्किनुभयो । 

भाइले आत्महत्या गरे भन्ने कुरा युवराजलाई पत्यार लागेको थिएन । परिवारका अरु पनि त्यही भनिरहेका थिए । भनिरहेका छन् । तर उनीहरुले चित्तबुझ्दो उत्तर पाएका छैनन् । 

शव ल्याउन ६ महिना लाग्दाको पीडा 

दोहोरिएर आएको पीडाले बिछिप्त भएको अर्याल परिवार मीनप्रसादको शव आउन ६ महिना लागेपछि झनै पीडामा डुब्यो । नवलपरासीमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको संस्था हिकोडेफले सहयोग गरेपछि बल्ल शव आयो । शवको अन्त्येष्टिसँगै परिवारका योजना र सपना पनि बिलाए । 

शवसँगै चिठ्ठी थियो । मीनप्रसादले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड नोट’ भनेर पठाइदिएको थियो कम्पनीले । 

चिठ्ठीमा लेखिएको थियो – ‘यो संसार झुठो रहेछ । यो झुठो संसारमा झुठो खेल खेलेर मलाई बस्न र बाँच्न मन छैन । त्यसैले बिदा लिँदै छु । छोराछोरीलाई दुःख नदिनु’

मीनप्रसादले श्रीमती र परिवारलाई छोराछोरीलाई दुःख नदिनु भनेर लेख्नुभयो । मीनप्रसादको निर्णयले श्रीमती र परिवार भने अहिले पनि पीडामा छन् । 

पीडा भुलाएर नयाँ जीवन खोज्दै रमा

भनिन्छ नि पीडा जसलाई परेको छ, उसैलाई मात्रै थाहा हुन्छ । आफन्त छिमेकी सबैले रमालाई यस्तो पीडा तिमीलाई मात्रै होइन धेरैलाई परेको छ भनेर सम्झाए । तर न सम्झाएर सम्झिन सक्ने ठाउँ थियो न बुझाएर बुझाइसक्नु नै । श्रीमानको शव आउँदासम्म होस हराए जस्तै हुनुभएको थियो रमा । 

परिवारले थुम्थुम्याए, छिमेकीले सम्झाए । श्रीमानले सधैंका लागि छोडेर गएको पनि अढाई वर्ष भइसक्यो । तर उहाँ अहिले पनि अढाइ वर्ष अघिको अवस्थामा फर्किन सक्नुभएको छैन । 

साउदीबाट त्यस्तो खबर आउने अघिल्लो दिन मात्रै श्रीमानसँग कुरा भएको थियो रमाको । उहाँले अब केही समय बसेर घर फर्किएर गाउँमै केही काम गर्ने योजना पनि सुनाउनुभएको थियो । यस्तो योजना सुनाएका श्रीमानले कसरी आत्महत्याको निर्णय गर्नुभयो भन्ने रमाले खुट्याउन सक्नुभएको छैन । 

‘डेढ वर्षसम्म त घरबाट बाहिर निस्किन्न थिइन्, अहिले त अलिक फेरिएकी हुन्’ युवराले बुहारीको बारेमा भन्नुभयो । मनोसामाजिक परामर्श लिन थालेपछि उहाँमा परिवर्तन आउन थालेको हो ।

रमालाई नवलपरासीको हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका मनोसामाजिक परामशर्मकर्ता राम बरालले परामर्श दिनुभएको हो ।

आफूलाई ती पीडाबाट टाढा राख्न र छोराछोरीको भविष्यका लागि रमाले अहिले घरमै किराना पसल चलाइरहनुभएको छ । ‘चोट त जिन्दगीभरीलाई नै रह्यो तर छोराछोरीकै लागि भए पनि आफूलाई सम्हालिरहेको छु’ रमा भन्नुहुन्छ । 

वैदेशिक रोजगारीको सामाजिक मोल अन्तर्गत यसअघि उज्यालोमा प्रकाशित पढ्ने कथाहरु

परदेशबाट होस गुमाएर फर्किएकाहरु

विदेशको कमाइले पक्की घर बनाएर के गर्नु, छोराले आमा भन्दैन

विदेशबाटै श्रीमतीलाई ‘टर्चर’

अन्तिम अपडेट: मंसिर १०, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया