युएईबाट दसैँमा नेपाल जानेको घुँइचो, जहाजका टिकट सकिए

 असोज २५, २०७५ बिहिबार १७:२:८ | उमाकान्त पाण्डे

युएई – घरदेशमा चाडपर्व आए सँगै परदेशमा कार्यरत नेपालीमा पनि रौनकता थपिएको छ । घर परिवारसँग दसैँ मनाउन जान पाउनेहरु खुसी छन् भने जान नपाउनेहरु मन भरी घरपरिवारको सम्झना बोकेर काम गरिरहेका छन् । 

युएईबाट दसैँमा घर बिदामा जाने नेपालीको संख्या बढेको छ । गएको हप्तादेखि नेपाल फर्किने नेपालीको संख्या बढेका कारण युएईबाट सिधा तथा ट्रान्जिट हुँदै नेपालका लागि उड्ने सबै हवाईजहाज भरिएका छन् । 

‘साढे दुई लाख नेपाली कार्यरत रहेको मुलुक युएई र मध्यपूर्वका जहाज ट्रान्जिट हुने भएका कारण पनि युएईबाट काठमाडौंका लागि उडान भर्ने सबै जहाज पूरै सिट भरेर काठमाडौंका लागि उडेका छन्,’ दुवईमा नेपालीको लगानीमा सञ्चालित नमस्ते ट्राभल्सका नानुकाजी अर्यालले भन्नुभयो । 

‘दसैँमा बिदा जाने भनेर धेरैजसोले वर्षदिन पहिले नै टिकट काटिदिन भन्नुहुन्छ । कतिपयले अन्तिम अवस्थामा आएर टिकट लिने चलन छ । त्यसो गर्दा महँगोमा परिन्छ,’ अर्यालले भन्नुभयो । 

युएईको सारजाहबाट दैनिक एउटा मात्रै उडान भर्दै आएको एयर अरेबियाले एक महिनाको लागि दिनको सात वटा उडान सुरु गरेको छ । कुवेतबाट नेपालका लागि उडेका र सारजाह ट्रान्जिट हुने यात्रुका कारण पनि एयर अरबिया भरिएको छ । 

त्यस्तै युरोप अमेरिकाबाट नेपाल उडेका यात्रुले दुवई ट्रान्जिट बनाएर फ्लाई दुवईसँग जोडिएका कारण फ्लाई दुवईको जहाज पनि भरिएको छ । दैनिक दुईवटा उडान गर्ने फ्लाई दुवईले दसैँ तिहारका लागि भनेर दैनिक चार वटा उडान गरिरहेको छ । सस्तो मानिएका यी दुवै उडानमा अघिपछि पनि नेपालीको यात्रुको चाप हुन्छ । दैनिक उडेका जहाज भरिएका आधारमा दुई हप्तामा युएईबाट एक लाख १५ हजार  भन्दा धेरै नेपाल गएका छन् । 

धेरैको रोजाइ नेपाल एयरलाइन्स  

नेपाल एयरलाइन्सले सन् २०१२ बाट रोकेको दुवई उडान २ वर्ष अघि देखि सुचारु गरेसँगै अधिकांश नेपाली नेपाली ध्वजावाहक जहाज चढेर नेपाल फर्किने गरेका छन् । हप्तामा तीन दिन मात्रै उडान गर्दै आएको नेपाल एयरलाइन्सले अहिले दैनिक उडान भर्दै आएको छ । 

ट्रान्जिट भएर जाँदा समय धेरै लाग्ने भएकाले पनि धेरैजसोले सिधा उडान रोज्ने गरेका छन् । तर सिधा उडान भर्दै आएका एयरलाइन्समा भन्दा पनि धेरैको रोजाइ नेपाल र हिमालयन एयरलाइन्स हुने गरेको छ । पहिले समयमै सामान नपुग्ने गुनासो भए पनि गएको वर्षबाट उडान गर्ने यात्रुले गुनासो नगरेको नेपाल एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले बताउनुभयो ।  

शुक्रबार टिका, विदेशमा कार्यरत नेपाली खुसी 

घरबिदामा जानेहरु घरपरिवारसँग चाड मनाउन पाएकोमा खुसी नहुने कुरै भएन । परिवारबाट अलग भएर परदेशमा दसैँ मनाउने नेपालीले शुक्रबारको दिन टिका परेकाले राहत महसुश गरेका छन् । 

शुक्रबार सार्वजनिक बिदा हुने भएको त्यसै दिन दसैँ मनाउने तयारी थालेका छन् ।सम्बन्धित देशको कानुन अनुसार अनुशासित र मर्यादित भएर चाडपर्व मनाउन आबुधाबीमा रहेको नेपाली दूतावासले अनुराेध गरेकाे छ।  

याे पनि पढ्नुहाेस्

वैदेशिक रोजगारीले लियो दाजुभाइको ज्यान, सम्हालिँदै परिवार

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया